–डा शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेस केन्द्रीय समिति बैठकमा राख्नुभएको धारणाको सम्पादित अंश-
काठमाडौँ, २७ साउनः१. आजभन्दा झण्डै पाँच दशक अगाडि नेपाली कांग्रेसका पथ प्रदर्शक जननायक विपी कोइराला दक्षिण एशियामा उत्पन्न राजनीतिक उतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो ।
आज फेरी एकपटक दक्षिण एशियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरु माथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिंदैछ । अर्थात दक्षिण एशिया अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने संभावना बढेको छ ।
२ . दक्षिण एशियाको राजनीतिक द्धन्द्धले नेपाल र नेपालीको मनोभाव माथि प्रभाव परेको म बुझ्दछु । यसमा यो केन्द्रिय कार्यसमिति गम्भिर हुनुपर्छ भनी मैले माथि विपी कोइरालाको स्मरण गर्नु परेको हो । मुलुक नसोचिएको संकटतर्फ जाने हो की भन्ने चिन्ता सवै नेपालीमा छाएको छ । राष्ट्रियता र लोकतन्त्र कमजोर हुँदा घरेलु प्रतिकृयावादी मात्र होइन अन्तराष्ट्रिय शक्ति केन्द्रले पनि हामी माथि रजार्इं गर्न पछि पर्दैनन् ।
३. बंगलादेशको घटनाले हामी सवैलाई उद्धेलित गरेको हुनुपर्छ । नेपालमा बंगलादेशको जस्तो घटना दोहरिन नदिन राजनीतिमा मूल्यपद्धति र नैतिक पक्ष शसक्त हुनुपर्छ भन्ने पाठ बंगलादेश घटनाले हामीलाई सिकाएको छ । नेता र राजनीतिप्रती जनताको बितृष्णा बढ्दो छ । राजनीतिक दल, नेता, प्रणाली र संविधान माथि नै जनता असन्तुष्ट छन् भनी अहिले नेपालमा एउटा “वेभ” सृजना गर्न खोजिदै छ । यसलाई मध्यनजर गर्दै राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय राजनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो दल भएको नाताले गम्भिरतापूर्वक सोचौँ ।
४. वर्तमान गठवन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भिरतापूर्वक उठाईएको छ । छिटो–छिटो सरकार गठन र बिघटन भैरहँदा विकासका गति अगाडी बढेनन् र जनताले सुशासनको अनुभुति गर्न पाएनन् भनेर मैले नै केही समय अगाडी देखी भन्दै आईरहेको हुँ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाऔँ र संविधान संशोधनमार्फत देशमा राजनीतिक स्थायित्व दिऔँ भन्ने आवाज उठाएको हुँ ।
वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रकिया अगाडी बढाउँने हो । निसन्देह दुई ठुला दल मिल्नुको औचित्य संविधान संशोधन लगायत साझा राष्ट्रिय कार्यसूचि बनाएर जनभावना अनुसार कार्यान्वयनमा लैजान सक्दा आम जनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आम नेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रकृया अगाडी बढाँउदा संविधानको स्विकारोक्तिमा आम नेपाली भावना जोडिनु पर्छ । त्यस्तै, साझा राष्ट्रिय कार्यसूचि बनाउँदा नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिवद्धताहरुलाई विर्सन मिल्दैन ।
दुई ठुला दल मिलेर बनेको सरकार वर्तमान परिस्थितिमा संसदीय गणितको घमण्ड र राजनीतिक आग्रह र पूर्वाग्रहमा अल्झेर होइन सोझै जनताप्रती उत्तरदायी हुनसक्दा मात्र अहिले देखिएका अनेकन् लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्न सकिन्छ ।
५. वर्तमान सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र एमालेले सुशासनको धेरै प्रतिबद्धता गरेका छन । तर व्यवहारमा संघ र प्रदेशमा मन्त्रीहरु छनौटले सुशासनलाई जिस्काईरहेको छ । हामी किन यसरी सुशासनको सन्दर्भमा बारम्बर चुक्दै छौँ ?
६. सरकार छ भन्ने अनुभूति आम नागरिकलाई संकटको समय सवैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुका विच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन् समस्याहरुसंग जुध्दै छ । तिनको उद्धार, राहत, उपचार र पुनर्स्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न भएको सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस ।
लोकतन्त्रमा मुल कुरा जनता र सरकार विचको सम्बन्ध हो, सरकारप्रति आम नागरिकको भरोसा र विश्वास हो । यस्तो भरोसा र विश्वास सृजना गर्ने निकायहरु सरकारी सेवाप्रदायक संवैधानिक संस्था र निकायहरु हुन ।
सरकारी निकायमा राजनीतिकरण भएर तिनको प्रभावकारिता भुत्ते भएका छन् भनी हामीलाई स्विकार्न कुनै संशय छैन । तर पनि केही सरकारी निकाय र संस्थाहरुले यस विच नेपाली जनता माझ आफ्नो औचित्य र उपदेयता प्रमाणित गरेका छन । यस्ता संस्था र निकायहरुमा भएका कैयन व्यक्तिले प्रतिकुल परिस्थितिमा पनि राष्ट्रले गौरव गर्ने काम गरेका छन ।
यहाँ म उदाहरण प्रस्तुत गर्न चाहन्न, तर खवरदारी भने नगरी रहन सक्दिन । लोकतन्त्रको जग तव मात्र बलियो हुन्छ, जब संस्थालाई लोकतान्त्रीकरण र पारदर्शी ढंगले चलाईन्छ ।
७. प्रदेश संरचनाको सम्बन्धमाः–
क. वर्तमान संविधान जारी भएको यतिका बर्ष भइसक्दा पनि प्रदेशले संविधान अनुरुप पाउनुपर्ने अधिकार पनि पाएका छैनन् । खासगरी बित्तिय संघीयता र प्रशासनिक संघीयतामा देखिएको कमजोरीले संघियता सम्बन्धी गुनासो छ र यसको औचित्य स्थापित गर्न अप्ठ्यारो भइरहेको छ । तसर्थ दुई ठुला दल मिलेर सरकार बनाउनुको सार्थकता प्रदेशलाई हरेक प्रकारले सशक्त र प्रभावकारी बनाउनेतर्फ पहल गर्नुपर्छ ।
ख. नेपाली कांग्रेसको विधानमा प्रदेश कार्यसमितिलाई अझ बलियो बनाउने गरी विधान संशोधन गरौँ । केन्द्रले नियमन गर्ने र प्रदेशले कार्यक्रम गर्ने गरी संगठनका काम गर्न व्यवस्था गरौँ ।
८. तपार्इंको नेतृत्वमा विगत आठ वर्ष देखि कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको समिक्षा म यहाँ गर्न चाहन्न । कांग्रेस हिजो किन खुम्चियो र आज फेरी किन गठवन्धनको कारण ठुलो दलको रुपमा संसदमा उपस्थित छ, यधपी कांग्रेसको जनाधार खुम्चिएको निर्वाचनले देखाएको छ । यि सवैको वस्तुनिष्ठ समिक्षा गर्ने जिम्मा म इतिहाँसलाई छाडिदिन्छु ।
मेरो आग्रह सवै केन्द्रिय कार्यसमितिलाई साक्षि राखेर के मात्र छ भने कांग्रेसको १५औँ महाधिबेशन लम्बाउने कुनै प्रपञ्च नगरौँ । पार्टीको बिधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागी अबिलम्ब समितिहरु बनाऔँ । १४औँ महाधिबेशन देखी थाँती रहेका क्रियाशिल सदस्यता लगायतका समस्याहरु तत्काल समाधान गरी २०८२ मंसिरमा १५औँ महाधिबेशन गर्ने सुनिश्चितता यही केन्द्रिय समिति बैठकले गरोस । यो वा त्यो वहानामा महाधिबेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजान्छ । ठिक चारवर्षमा कांग्रेसको महाधिबेशन होस । मैले यसो भनिरहँदा म यहाँ विग्रिएको प्रणालीलाई ट्रयाकमा ल्याउने मनाशयवाट यो कुरामा जोड दिईरहेको छु । म क्रियाशिल सदस्यता वितरण र महाधिबेशनको लागि जिम्मेवारी पाएका साथीहरुलाई पनि समयवद्ध कार्यतालिका बनाएर यथा समयमा पार्टी महाधिबेशन सम्पन्न गर्ने तयारीमा जुटौँ भनी विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु ।
९. अब पनि पार्टीलाई विधान अनुसार समयवद्ध तरिकाले संचालन गर्ने परिपाटी नचलाए कहिलेवाट यो संस्कार विकसित गर्ने ? समय गुज्रेर गरिने कुनै पनि कार्य प्रभावकारी हुँदैन । अहिले पनि नबुझे कहिले बुझने ? जसरी समय गुज्रेको औषधीले विरामी निको पार्दैन त्यसैगरी समयमा सम्पन्न हुनुपर्ने पार्टीका कामहरु नगर्दा त्यसको प्रभावकारिता हुन्न ।
१०. अहिले राजनीतिमा लोकरिझ्याई(पपुलिज्म) हावी भएको छ । हाम्रो पार्टी पनि लोकरिझ्याईबाट अछुतो छैन । कांग्रेस पार्टीको आफ्नै मौलिकता, आदर्श र सिद्धान्त छ तर अहिले यसलाई बिर्सेर सामाजिक सञ्जाल र लोकरिझ्याईले पार्टीलाई डोर्याउन खोजेको जस्तो देखिन्छ । यसले पार्टी कहाँ पुग्छ वेलैमा सोचौँ ।
अन्तमा, गठवन्धन सरकारको नेतृत्व हाम्रो राजनीतिक प्रतिस्पर्धीले गरिरहेका छन । म यहाँ हाम्रो राजनीतिक प्रतिस्पर्धी कस्ता छन र भावी दिनमा के गर्लान भनी अड्कल काट्न चाहन्न । तर अहिले सरकारमा गएका हाम्रा साथीहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सकेनन् भने हाम्रो पार्टीमा नसोचेको गिरावट आउने खतरा म देख्छु ।
सुशासन केवल शब्द रटान र पार्टीको घोषणापत्रमा लेखिने कुरा मात्र होइन आम नागरिकले अनुभूति गर्ने कुरा हो । कांग्रेस नवनिर्माणको वाटो, पार्टीमा मूल्य र सिद्धान्तको नवनिर्माण अभियान, सरकारमा गएकाहरुको सुशासनप्रतिको निष्ठा र पार्टीमा आवद्ध साथीहरुको एकतावद्ध प्रयासवाट मात्र कांग्रेस रुपान्तरण सम्भव छ, तसर्थ भविष्यको कांग्रेसको नयाँ राजमार्ग यिनै वाटोवाट मात्र बन्छ भनी विश्वासका साथ हामी अघि बढौं ।