काठमाण्डौं, ३१ असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। आज बिहान भएको फाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिनाले यो उपाधि जितेको हो ।
कोपा अकेरिका दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । यो प्रतियोगिताको आजको फाइनल खेलमा कोलम्बियालाई १-० गोलले पराजित गरेर उपाधि जितेको हो । यो खेल अमेरिकाको मायमीस्थित हार्ड रक रंगशालामा भएको थियो।
आजको खेलमा निर्धारित समय ९० मिनेट भित्र दुबै टोलीले गोल गर्न सकेका थिएनन् । त्यसो हुँदा खेल एक्स्ट्रा समय ३० मिनेट थपेर खेलाउनु परेको थियो ।यो एक्स्ट्रा समयको हाप टाइम पनि विना गोल बित्यो । तर त्यसपछि दुई मिनेट अर्थात् पूरा खेल समयको ११२औं मिनेटमा अर्जेन्टिनाका खेलाडी लाउटारो मार्टिनेजले गोल गरे ।
केही तनाव र अति प्रतिस्पर्धाको यो खेलमा त्यसपछि कुनै पक्षबाट पनि गोल भएन । मार्टिनेजको त्यही एक गोल अर्जेन्टिनाको लागि कोपा अमेरिकाको उपाधि चुम्न पर्याप्त भयो ।
यसपटकको जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि हात पारेको छ भने पटक पटक गरेर १६औं पल्ट यही उपाधि जितेको छ । कोपा अमेरिकाको उपाधि उरुग्वेले १५ पल्ट जितेको छ ।