काठमाण्डौं, १८ असार । संसदका दुइ ठूला दल नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति भएको छ । हिजो सोमबार राति यी दुइ दलका नेता बीच त्यस्तो सहमति भएको हो ।
यो सहमति अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली अब पहिलो दुई वर्ष र त्यसपछिको बाँकी अवधि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।
यो सहमतिसँगै माओवादी नेता प्रचण्ड सत्ताबाट बाहिरिने छन् भने रास्वपाको चुरिफुरी पनि सकिने छ ।
यता देउवा र ओलीले भने सबैलाई समेटेर राष्ट्रिय सहमतिको सरकार बनाउनको लागि पहल गर्ने बताइएको छ ।
देउवा र ओलीले हस्ताक्षर गरेको त्यो सहमतिपत्रमा संविधान संशोधन गर्ने उल्लेख छ ।
असार १५ गते कांग्रेस सभापति देउवाले ओलीलाई उहाँकै निवास बालकोट गएर भेटेपछि सत्ता परिवर्तनको विषयले सकारात्मक रूपले तीब्रता लिएको थियो ।
केही समयदेखि एमाले अध्यक्ष के पी ओलीले आफ्नै पहलमा बनेको प्रचण्ड नेतृत्वको सरकारको कार्यशैलीबारे असन्तुष्टि व्यक्त गर्दै आउनु भएको थियो ।
कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीबीच भएको ७ बुँदे सत्ता समझदारी
१. ओली दुई वर्ष प्रधानमन्त्री, शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने।
२. प्रदेश सरकारहरुमा ३÷३ वटा सरकार बाँड्ने। मधेस प्रदेशमा चाहिँ मधेसकेन्द्रित दलकै नेतृत्व दिने ।
३. संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने, उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी।
४. प्रतिनिधि सभा र राष्ट्यि सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्ने।
५. पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने।
६. संविधान पुनरावलोकन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने।
७. प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितमात्रै राख्ने।