काठमाडौ, ७ वैशाख । अमेरिकी अधिकारीहरूले एउटा इजरेली क्षेप्यास्त्र इरानमा प्रहार गरिएको बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएका छन्।

इरानमा क्षेप्यास्त्र प्रहार भएको विषयमा अमेरिका रक्षा मन्त्रालय र इजरेली सेनाले टिप्पणी गर्न अस्वीकार गरेका छन्।

यद्यपि इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको अपुष्ट जानकारी पाएको उल्लेख गरेका छन्।

इरानको प्रतिरक्षा प्रणालीले तीनवटा ड्रोन नष्ट पारिदिएको बताइएको छ। इस्फहान सामरिक महत्त्व भएको प्रान्त हो।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार कैयौँ सहरमा उडान रद्द गरिएको छ। तर केही घण्टापछि तेहरानस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थल फेरि खुलेको सरकारी समाचारसंस्था आईआरएनएले जनाएको छ।

गत शनिवार राति इरानले इजरेललाई लक्ष्य बनाउँदै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो।

इजरेलले उक्त आक्रमणको जबाफ दिने बताएको थियो। त्यस बेलादेखि नै इरानमा उच्च सतर्कता छ।

इरानमा आक्रमण गर्नुअघि सिरियास्थित इरानी कूटनीतिक नियोगमा भएको घातक आक्रमणमा केही इरानी सैन्य अधिकारीहरूको मृत्यु भएको थियो। इरानले उक्त आक्रमण इजरेलले गराएको आरोप लगाउँदै प्रतिशोध लिने बताउँदै आएको थियो।

दुवै पक्षलाई संयुक्त राष्ट्रसङ्घ र विश्वका अरू देशका नेताहरूले संयमित हुन आग्रह गर्दै आएका छन्।

इरानी हवाई प्रतिरक्षा प्रणालीले बाहिरबाट प्रहार गरिएका ड्रोनलाई नष्ट पार्दा देशका विभिन्न स्थानमा विस्फोटन भएको सुनिएको इरानी सरकारी प्रसारकले जनाएको छ।

इजरेली क्षेप्यास्त्र प्रहार भएको भनिएको इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ।

त्यहाँ कैयौँ परमाणुकेन्द्रहरू छन्। त्यहाँ एउटा मुख्य सैन्य आधार र सामरिक महत्त्वका स्थलहरू छन्। तर अहिलेसम्म कतै क्षेप्यास्त्र लागेको जानकारी प्राप्त भएको छैन।

सरकारी प्रसारक आईआरआईबीले “विश्वस्त स्रोत”लाई उल्लेख गर्दै त्यहाँ रहेका परमाणुकेन्द्रहरू “पूर्ण रूपमा सुरक्षित रहेको” जनाएको छ।

दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएका छन्।

इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोटन भएको विवरण प्राप्त भएको छ।

संयुक्त राज्य अमेरिकाका भूतपूर्व सहायक विदेशमन्त्री मार्क किमिटले इरानका लागि इस्फाहनको महत्त्व र इजरेलले उक्त स्थानलाई आक्रमणको निसाना बनाउनुको कारणबारे बीबीसीसँग कुरा गरेका छन्।

ूइरानको पारमाणविक कार्यक्रमका लागि इस्फहान धेरै हदसम्म केन्द्र हो तालिम, अनुसन्धान र कसैकसैले भनेअनुसार पारमाणविक सामर्थ्यको विकासका लागि, उनले भने।

ूयो त्यसैले इजरेलले निसाना बनाउने सम्भावित स्थान हो। इजरेलीहरूको ठूलो डर आजको क्षेप्यास्त्र आक्रमण हुन्छ भन्ने हैन बरु भोलि हुने इरानकोे पारमाणविक सामर्थ्य हो।

अमेरिकी अधिकारीहरूले सीबीएसलाई इजरेली क्षेप्यास्त्र इरानमा प्रहार भएको बताए पनि त्यो कस्तो खालको प्रहार थियो, लक्ष्य कहाँ थियो र क्षेप्यास्त्रले लक्ष्यभेदन गर्‍यो कि गरेन भन्ने खुलाएका छैनन्।

अमेरिकी अधिकारीहरूले इरानमा इजरेली क्षेप्यास्त्र प्रहार भएको बताएपछि विश्व बजारमा खनिज तेल र सुनको मूल्य बढेको छ।

शुक्रवार बिहान एशियामा ब्रेन्ट कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारल ९० अमेरिकी डलर पुगेको छ भने सुनको मूल्य प्रतिआउन्स (झन्डै २८.३५ ग्राम)को २,४०० डलर पुगेको छ।

सुनको मूल्य अहिलेसम्मकै सर्वाधिक भएको हो। इरान खनिज तेलको सातौँ ठूलो उत्पादक हो।

जापान, हङ्‌कङ र दक्षिण कोरियामा स्टक बजार ओरालो लागेको छ। बीबीसी

 

प्रतिक्रिया

सम्बन्धित खवर