इजरेल, २ बैशाख । संयुक्त राष्ट्रसङ्घले इरानले इजरेलमाथि गरेको हमलाका बारेमा छलफल गर्न इजरेलको अनुरोधमा आइतवार सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्ने जनाएको छ।
सामाजिक सञ्जालमा राखिएको एक सन्देशमा राष्ट्रसङ्घका लागि इजरेलका राजदूत गिलाड एर्डानले इरानले गरेको हमलालाई ‘विश्वव्यापी शान्ति र सुरक्षामाथि नै गम्भीर सङ्कट’ भनेका छन्।
उनले तेहरानविरुद्ध ठोस कदम चाल्न सुरक्षा परिषद्ले सम्पूर्ण उपायहरू अवलम्बन गर्ने अपेक्षा गरेको पनि बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले इरानको कदमको निन्दा गरेका छन् र उनी त्यस क्षेत्रभर नै तनाव चर्केर जाने वास्तविक खतराप्रति गहीरो रूपमा चिन्तित रहेको पनि उनले बताएका छन्।
इरानले इजरेलमा हवाई हमला गरेपछि इजिप्टले आफ्नो हवाई सुरक्षा प्रणालीलाई उच्चतम सतर्क अवस्थामा राखेको बताएको छ। उसले त्यस क्षेत्र र त्यहाँका जनतालाई थप अस्थिरताको अवस्थाबाट जोगाउन अत्यन्त संयम अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ।
चीनको विदेश मन्त्रालयले पछिल्लो तनावपूर्ण अवस्था गाजामा जारी युद्धको पछिल्लो परिणाम भन्दै शान्तिका लागि आह्वान गरेको छ। उसले त्यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि रचनात्मक भूमिका खेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।
आर्जेन्टिनाका राष्ट्रपति हाभिएर मिलेइको कार्यालयले इजरेलप्रति “ऐक्यबद्धता र अटल प्रतिबद्धता” व्यक्त गर्दै एक वक्तव्य जारी गरेको छ।
ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले इरानी हमलालाई गैरजिम्मेवार भन्दै निन्दा गरेका छन्। उनले इरानलाई आफ्नै छिमेकमा अशान्तिको बीज रोपेको आरोप लगाएका छन्।
फ्रान्सले पनि इरानको निन्दा गर्दै उसको कदम अस्थिरताको नयाँ चरणमा पुगेको भनेर चेतावनी पनि दिएको छ। बीबीसी