महेन्द्रनगर (कञ्चनपुर), २५ चैत । आदिवासी जनजाति समुदायमा जन्मिएकी ३८ वर्षीया निर्मला डगौँराले सुदूरपश्चिम प्रदेशमा तेक्वान्दो खेलतर्फ पहिलो ‘छैटौँ डाँन’ को परिचय बनाउन सफल भएकी छन् ।
तेक्वान्दो खेलमा सङ्लग्न भएको करिब २६ वर्षपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका निर्मलाले सुदूरपश्चिम प्रदेशमा तेक्वान्दोमा छैटौ डाँनमा पुग्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम दर्ता गरेकी हुन् । खेलप्रति लगनशील र मेहिनतका साथ महेन्द्रनगरस्थित कवर्डहलमा तेक्वान्दो खेलमा जमेकी डगौँराले पारिवारिक जिम्मेवारी पनि इमान्दारिताका साथ पूरा गर्दै अघि बढेकी छिन् ।
“नेपालमा तेक्वादोमा औँलामा गणना गर्न सकिने छैटौ डाँन छौँ”, उनले भनिन्, “सुदूरपश्चिममा पुरुष पनि धेरै छैटौ डाँन हुँदा महिलातर्फ पनि म एक्ली हुँ ।” विसं २०५५ को दशकमा तेक्वान्दो खेलमा लागेकी डगौँराले स्कूलले जीवनमा भने कबड्डी र एक सय मिटर दौडकी धावक थिइन् । “स्कूले जीवनमा कबड्डी र दौडमा वीरेन्द्र शिल्डमा भाग लिन्थे”, उनले भनिन्, “विसं २०५६ तिर महिला फुटबल राष्ट्रिय प्रतियोगितामा पनि कञ्चनपुरबाट सहभागी भएको अनुभव छ ।”
तेक्वान्दोलमा विसं २०५७ मा सिनियरतर्फ प्रथम ब्ल्याक बेल्ट ९प्रथम डाँन० प्राप्त गरेकी उनले हालै छैटो डाँन पाउने यहाँकी एक्ली खेलाडी बनेकी हुन् । १३ वर्षको उमेरदेखि तेक्वान्दो खेलमा प्रवेश गरेकी डगौँराले राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेको इतिहास छ ।
“खेलप्रतिको मोह, लगन र मेहिनतले छैटौ डाँन बनेको हुँ”, डगौँराले भनिन्, “यसको श्रेय खेल प्रशिक्षक मोहन गुरुङ गुरु र मेरा अभिभावकलाई जान्छ ।” पछिल्ला वर्षहरुमा खेलाडीको ग्रेडिङ्ग, रेफ्री र कञ्चनपुर तेक्वान्दो सङ्घको सहसचिव पदमा बसेर तेक्वान्दो वरिपरि रहेकी डगौँराले भाषीमा तेक्वान्दो प्रशिक्षण केन्द्र स्थापनाको योजनामा छिन् ।
“महिला फुटबल विसं २०५६ मा खेलेको थिए । राष्ट्रिय खेलेको, अनुभव छ”, उनले भनिन् । विसं २०७४ मा घुँडामा देखिएको चोटका कारण अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भने निर्मला सहभागी हुन पाइनन् । “विभिन्न राष्ट्रिय प्रतियोगितामा दर्जनौँ पटक सहभागी भए पनि शारीरिक समस्या हुँदा मुलुक बाहिर जान भने पाइँन”, उनले भनिन्, “चोटको समस्या नभएको भए साफ र एसियन खेल्न कसैले रोक्न सक्ने थिएन होला ।”
खेल जीवनका क्रममा सन् २०१० मै एनआइएस कोर्स गरेर जागिर पाउन नसकेपछि सन् २०१३ मा स्पेन पयालन भएको उनले बताइन् । “एनआइएस गरेर पनि जागिरको टुङ्गो नभएपछि स्पेन हानिए”, उनले भनिन्, “तीन महिने स्पेन बसाइपछि आफ्नै भूमिमा केही गर्छु भनेर स्वदेश फर्किए ।”
महेन्द्रनगर आएपछि चियरा थारु कटेज सञ्चालनसँगै माछापालन सुरु गरेकी डगौँराले अहिले सो व्यवसाय भाडामा दिएकी छन् । “अहिले छोरो पनि हुर्किएर सात वर्षको भइसक्यो”, उनले भनिन्, “अब खेलसँगै व्यवसाय पनि गर्ने योजनामा छु ।”
डगौँराले खेल जीवनमा सफलता पाउनुमा परिवारको ठूलो साथ र सहयोग रहेको बताउँछिन् । “छैटौै डाँन बन्न सक्नु त्यति सजिलो होइन”, उनले भनिन्, “यसका विभिन्न मापदण्ड र चरण पार गर्दै सफल हुनेसके मात्रै सम्भव भइन्छ ।”
उनले महिलाको आकर्षण तेक्वान्दोमा बढेको देख्दा खुसी लागेको बताउँछिन् । “मैले प्रशिक्षणमा रहँदा महिला निकै कम सङ्ख्यामा खेल्न पाउँथे”, उनले भनिन्, “अहिले त यहाँ छरिएर रहेका हरेक सहायक डोजाङमा महिला खेलाडीको सहभागिता उल्लेखनीय छ ।”
डगौँराले महिलालाई दुई÷चार दिनको आत्मरक्षा तालिमभन्दा नियमित खेलमा लाग्न सुझाव दिइन् ।
तेक्वान्दो कञ्चनपुरका प्रशिक्षक मोहनप्रताव गुरुङले सुदूरपश्चिमबाट निर्मला डगौँरा एक्लो छैटौ डाँन हुन सफल हुँदा खुसीको सीमा नरहेको बताए । “निर्मला अनुशासित र लगनशील खेलाडी हुन्”, उनले भने, “डगौँराले लामो समय राष्ट्रिय प्रतियोगितामा सहभागी हँुदै आएकी थिइन् ।” डगौँराले बृहत छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन महिना स्वयं सेवक प्रशिक्षक भएर काम गरेको उनले बताए ।
“विसं २०५३ देखि महेन्द्रनगरमा तेक्वान्दो प्रशिक्षण दिँदै आएको निर्मला निरन्तर खेल्ने र फिल हुने पहिलो मेरो खेलाडी हुन्”, प्रशिक्षक गुरुङले भने, “जिल्लाभर अहिलेसम्म छ सयभन्दाले ब्ल्याक बेल्ड पाउने खेलाडी जन्मिए होलान् ।”
तेक्वान्दोमा छैटौ डाँनलाई स्नाकोत्तर तह उत्तीर्णसम्मको मान्यता दिइने प्रशिक्षक गुरुङको भनाइ छ । अहिले कञ्चनपुरमा २६ डोजाङ सञ्चालनमा रहेको भन्दै जिल्लाभरिमा कूल एक हजार एक सयभन्दा बढी खेलाडी तेक्वादोमा प्रशिक्षणरत रहेको उनले जानकारी दिए ।