काठमाडौ, १७ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसका नेता डा.शेखर कोइरालाले केही महिना भित्रै सत्तारुढ गठबन्धन टुट्ने बताउनुभएको छ ।
डा. कोइरालाले उक्त कुरा आज काठमाडौंमा विपी स्मृति सामुदायिक अस्पतालको १६ औं वार्षिक साधारण सभामा बताउनुभएको हो । नेता कोइरालाले केही महिनापछि फेरि अर्को गठबन्धन बन्ने पनि स्पष्ट पार्नुभयो ।
उहाँले गठबन्धनको टुटफुटको शृंखला केन्द्रबाट नभई सातवटा प्रदेशबाट सुरू हुने बताउनुभयो ।
‘भोलि यही बागमती प्रदेशबाट शुरु हुन्छ।सातै वटै प्रदेशमा हुन्छ।केही दिन वा केही महिनापछि फेरि अर्को गठबन्धन बन्छ,’ उहाँले भन्नुभयो ।
कोइरालाले प्रमुख प्रतिपक्षी दल भएपछि उसको प्रयास सत्तामा जाने भइरहने बताउनुभयो ।
‘हामी विपक्षमा छौं।हामी कोशिस गरिराखेका हुन्छौ, सत्तामा जानका लागि।त्यो स्वभाविक हो,’ उहाँले भन्नुभयो ।
उहाँले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी टिआरसी विधेयकमा एमाले सकारात्मक नभएकाले त्यसलाई पारित गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर एमालेसँग गठबन्धन गरेको बताउनुभयो ।
‘नेपाली काँग्रेस मानिहाल्छ भन्ने ठान्नुभयो,’ उहाँले भन्नुभयो , ‘तर, अदालतले दिएको निर्देशनलाई पालना गर्दै नेपाली काँग्रेस अन्तर्राष्ट्रिय संघ, संस्था, ह्युमन राईट्स लगायका संस्थाहरूले भनेका क्राइटेरियालाई लिएर मात्रै अगाडि बढ्छ।’(न्युज एजेन्सी नेपाल)