काठमाडौँ, ७ वैशाख ।  बसुन्धरा–मान प्रज्ञा प्रतिष्ठानले वरिष्ठ गायक श्रीकुमार बस्नेतलाई २०७८ को बसुन्धराश्री पुरस्कार र चर्चित गायिका मीरा राणालाई २०७८ को मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा आज बसेको बैठकले मौलिक र उत्कृष्ट नेपाली लोकगीतको सङ्कलन, गायन र संरक्षणमा अतुलनीय योगदान गरेको भन्दै बस्नेतलाई रु ७५ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी गायिका राणालले आधुनिक नेपाली गीत र सङ्गीतको सिर्जना एवं गायनद्वारा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँलाई रु ५० हजार नगदसहित सम्मान गर्ने निणर्य गरेको प्रतिष्ठानका सदस्यसचिव कृसु क्षेत्रीले जानकारी दिनुभयो । विसं २००० असार १७ गते काठमाडौँमा जन्मनुभएका वरिष्ठ लोकगायक बस्नेतले १७ वर्षको उमेरदेखि मौलिक नेपाली लोकगीतको सङ्कलन र गायन प्रारम्भ गरी हालसम्म नेपाली गीतिभण्डारमा ३०० भन्दा बढी गीत समर्पण गर्नुभएको छ । उहाँले लोक कोशेली, नयाँ कोशेली, मादल घनघन, कुमार दाइ र बेस्ट अफ कुमार बस्नेतजस्ता लोकप्रिय साङ्गीतिक कृति सार्वजनिक गरेको सो प्रतिष्ठानका सदस्य सचिव कृसु क्षेत्रीले बताउनुभएको छ ।

विसं २००८ असोजमा काठमाडौँमा जन्मनुभएका मीरा राणाले १४ वर्षको उमेरदेखि नेपाली सङ्गीत क्षेत्रमा प्रवेश गरी सयौँ गीत नेपाली सङ्गीत भण्डारमा समर्पण गर्नुभएको छ । राणाले लेकै फुल्यो लालीगुराँस, सदाबहार लोकगीत, मीरा राणका गीत, दुर्गाभजन र कृष्ण भजनजस्ता लोकप्रिय साङ्गीतिक कृति सार्वजनिक प्रतिष्ठानका सदस्य सचिव क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर