काठमाण्डौं, ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सरकारको कार्यशैली लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिको वर्खिलाप रहेको ठहर गरेको छ ।

सरकरले आज अकस्मात् संसदको हिउँदे अधिवेशन अन्त्य गरेको सन्दर्भमा काँग्रेसको यस्तो निर्णय आएको हो । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार अपरान्ह सो पार्टीको केन्द्रीय कार्यालयमा बसेको थियो ।

सरकारले यो अधिवेशनको अन्त्य प्रमुख प्रतिपक्षी दल र सभामुखसमेतलाई थाहा नदिइ गरेको थियो ।

यसबारे काँग्रेसको निर्णय छ : सरकारले प्रतिनिधि सभाको अधिवेशन अप्रत्याशित र हठात् अन्त्य गरेको विषयलाई बैठकले गम्भीरतापूर्वक लिएको छ । वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नु पर्ने जनसरोकारका कयौं महत्वपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसदबाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धति वर्खिलाप रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृतिको घोर भर्तसना गर्दछ ।

काँग्रेसको यो बैठकले कोरोना संक्रमणबाट जनतालाई बचाउन सरकारसँग विशेष कार्ययोजना बनाएर तत्काल लागू गर्न पनि माग गरेको छ । त्यसनिम्ति काँग्रेसले सरकारलाई ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ जस्तो कार्यक्रम बनाएर त्यसलाई द्रूत अभियानको रुपमा संचालन गर्न भनेको छ ।

बैठकको निर्णय छ : कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्व विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रुपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’ को व्यापक र दु्रत अभियान संचालन गर्न बैठकले सरकार समक्ष जोडदार माग गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर