–भरत केसी

लुम्बिनी, २० फागुन : नेपालको प्रजातान्त्रिक आन्दोलनमा विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरा घटनालाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक मानिन्छ । प्रजातान्त्रिक आन्दोलनलाई दबाउन तत्कालीन पञ्चायती व्यवस्थाका शासकले रुपन्देहीको सुरजपुरामा ४० वर्षअघि नेपाली कांगे्रसले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा नियोजित तवरले आक्रमण गरेर आन्दोलनका योद्धाहरुलाई हत्यासमेत गरेको आजको दिनलाई ऐतिहासिक दिनका रुपमा लिने गरिन्छ ।

पञ्चायत सरकारको प्रत्यक्ष निर्देशन, संलग्नता र संरक्षणमा नेपाली काङ्ग्रेसका नेताहरूमाथिको आक्रमण र सुनियोजित हत्याको प्रयास नै नेपालको प्रजातान्त्रिक इतिहासमा सुरजपुरा हत्याकाण्डको नामले परिचित छ । नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको मेची–महाकाली पार्टी कार्यकर्तालाई भेटघाट र सङ्गठन विस्तार अभियानअन्तर्गत २०४० फागुन २० गते आजकै दिन सुरजपुरामा कार्यक्रम आयोजना गरिएको थियो ।

नेता कार्यकर्ताको सुरक्षा र व्यवस्थापनका हिसाबले नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति पुष्पानन्द गिरीको निजी निवास सुरजपुरा नै पार्टीले उपयुक्त ठानेर कार्यक्रम आयोजना गरेको थियो । उक्त अभियानमा तत्कालीन महामन्त्री कोइरालासँगै नेताहरु वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पार्टीका वर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री सुशील कोइराला र नेतृ शैलाजा आचार्यलगायतका कांगे्रसका तत्कालीन केन्द्रीय नेताहरु सहभागी रहनुभएको थियो ।

कार्यक्रममा पञ्चायती सरकारद्वारा संरक्षित आक्रमणकारी समूहको आक्रमणबाट घाइते हुनुभएका यादवनाथ आलोकको उपचारका क्रममा दुई दिनपछि र रामप्रसाद चौधरीको १० दिनपछि मृत्यु भएको थियो भने दुई सय ७२ जनाभन्दा बढी घाइते भएका थिए ।

नेपाली कांग्रेसको प्रजातान्त्रिक आन्दालको इतिहासमा सुरजपुरा काण्डको नामले चर्चित उक्त घटनाका प्रत्यक्षदर्शी शक्ति प्रशन्न गिरी अभियानको नेतृत्व गरेर तत्कालीन महामन्त्री गिरिजाप्रसादसँगै आएका केन्द्रीय नेताहरु सुशील कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शैलजा आचार्यसहितका नेता कार्यकर्ताहरू जिल्लाको खैरेनी चोकबाट पाँच किलोमिटर सुरजपुरा गाउँसम्म हिडेरै पुगेको स्मरण गर्नुहुन्छ ।

पार्टी जिल्लाको बैठकमा कतिपयले यस्तो अवस्थामा कार्यक्रम नगर्न सुझाव दिएको तर जिल्ला सभापति पुष्पानन्द गिरी (शक्तिका बुबा) ले महामन्त्रीको कार्यक्रम जिल्लामा चार स्थानमा गर्नुपर्ने र पहिलो कार्यक्रम आफ्नै घरबाट सुरु गर्ने अडान राखेर कार्यक्रम तय भएको शक्ति प्रशन्नले तत्कालीन अवस्थाको स्मरण गर्दै भन्नुभयो । पार्टीको निर्णयबमोजिम फागुन २० गते करिव १२ बजे महामन्त्रीसहित केन्द्रीय नेताहरु कार्यक्रमस्थल आफ्नै घरमा पुगेपछि पहिलो चरणको कार्यक्रम सुरु भएको केही समयमै आक्रमण भएको थियो ।

कार्यक्रममा महामन्त्री कोइरालाले पहिलो चरणमा भाषणमा बोलेको विषय शक्ति प्रशन्नले स्मरण गर्नुभयो ‘साथीहरु हामीहरु देशमा प्रजातन्त्र पुनःस्थापनाका लागि एउटा अभियानमा जादैछौँ, यस्तो महायज्ञमा अगाडि बढदै गर्दा हरेक किसिमका समस्याहरु आउँछन् । यहाँ पुलिस प्रशासनले त्रसित बनाएको होला, पुलिस प्रशासनसँग कत्ति पनि नडराउनुस, आफ्नो मनबाट डरलाइ निकालिदिनुभयो भने तपाईंहरुलाइ कसैले केही गर्न सक्दैन । कसैको पनि त्रास नराखेर सङ्गठन गर्नुस, मुख्य कुरा सङ्गठन हो । भोलि चुनावमा जानुपरे पनि सङ्गठन चाहिन्छ, आन्दोलनमा जानुपरे पनि सङ्गठन चाहियो र तपाईंहरु आफ्नो ठाउँमा समाजमा बाँच्न पनि सङ्गठन चाहियो । त्यसैले सङ्गठन, सङ्गठन, सङ्गठन । सङ्गठनलाई मूल मन्त्र मानेर अगाडि बढनुस् ।’

त्यत्तिकैमा गाउँको नजिकै एक हुल मान्छे काला झण्डा लिएर सभा भएतिरै आउँदैछन् भन्ने सूचना सुनाउँदा कोइरालाले ‘काला झण्डा लिएर आएका छन् भने त एकदमै राम्रो प्रजातन्त्रमा विरोध गर्न पाइन्छ, हामी पनि वर्तमान व्यवस्थाको विरोधमा कार्यक्रम गरिरहेका छौँ अभिव्यक्ति राख्न पाइएन भनेरै हामीले सङ्घर्ष गरिरहेका छौँ’ भनेर कार्यकर्तालाई सम्झाएको उहाँ बताउनुहुन्छ ।

“आक्रमणकारीहरु पुष्पानन्दको घरतर्फ आउनै लागेको खबर आएपछि गिरिजाप्रसाद कोइरालाले भाषण छोट्याएर उहाँलाई बुबाले घरको माथिल्लो तलामा लगेर राख्नुभयो । आक्रमणकारीहरु आएर घरमा तोडफोड गर्न थाले”, शक्ति प्रशन्नले भन्नुभयो, “हातमा खुकुरी, भाला, बञ्चरा र लाठीलगायतका घरेलु हतियार बोकेका सबैको साथमा झोला थियो, झोलाबाट ढुङ्गा निकालेर सबैले प्रहार गर्न थाले, बाहिरै रहेका शेरबहादुर देउवाको ओठमा ढुङ्गाले लाग्यो देउवाको ओठमा अझै पनि त्यो खत छ ।”

“गिरिजाप्रसादलाई घरको पहिलो तलामा राखेर प्रवेश गर्ने घोप्टे ढोका लगाएर त्यसमाथि भोटे ताल्चा लगाइएको थियो,” उहाँले भन्नुभयो, “उनीहरुले झ्याल फोडेर घरभित्र पसे पनि माथिल्लो तलामा जान सकेनन् ।”

घटनापछि आफुहरुको परिवार निक्कै सङ्कटमा गुज्रिएको र अहिले पनि व्यवस्थित हुन नसकेको उहाँ बताउनुहुन्छ । यद्यपि, आफ्नो घर देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि एउटा इतिहास बनेको गर्व गर्नुहुन्छ । “यो ठाउँ समग्रमा देशको, लोकतन्त्र, नेपाली काङ्ग्रेस पार्टी र पार्टीका नेताहरुको इतिहास हो,” उहाँले भन्नुभयो, “गिरी परिवारको इतिहास त अन्तिममा हो ।”

चितवनमा निजी गाडी बिग्रिएकाले गाडी त्यहीं छोडेर कोइरालासहितका काङ्ग्रेस नेताहरू अर्को गाडीमा रुपन्देहीको खैरेनी पुग्नु भएको थियो । उहाँहरुलाई आक्रमण गर्न दाउन्नेमा एउटा समूह हतियारसहित पुगेको तर उनीहरुले गाडी चिन्न नसक्दा नेताहरु जोगिएको शक्ति प्रशन्नले बताउनुभयो ।

तत्कालीन पार्टीका महामन्त्री गिरीजाप्रसादले सञ्चालन गर्नुभएको अभियानअन्तर्गत रुपन्देहीको कार्यक्रममा सहभागी हुँदा आक्रमणबाट घाइते परमानन्द भट्टराई हाल बुटवल उपमहानगरपालिका–४ का बासिन्दा हुनुहुन्छ । तत्कालीन अवस्थामा भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत रहँदा आफू नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल विद्यार्थी सङ्घ क्याम्पस इकाइ सदस्यको रुपमा पार्टीको अभियानअन्तर्गतको उक्त कार्यक्रममा सहभागी हुने अवसर पाएको उहाँ बताउनुहुन्छ ।

फागुन २० गते जिल्ला पार्टी सभापतिको निवास परिसरमै कार्यक्रम आयोजना गरिएको र पार्टीका केन्द्रीय महामन्त्रीसहित नेताहरु सम्बोधन गर्ने कार्यक्रममा सहभागी हँुदा तत्कालीन राज्य संरक्षित आक्रमणकारीबाट घाइते हँुदा झण्डै एक महिना उपचारपश्चात मात्र उहाँ घर फर्किनु भएको थियो ।

तत्कालीन महामन्त्रीले कार्यकर्ताको मनोभावना बुझ्ने र सङ्गठन विस्तारका लागि देश दौडाहा गर्ने र आगामी आन्दोलनका कार्यक्रम तय गर्ने भन्ने उद्देश्यले त्यसअघि कपिलवस्तुको जीतपुरमा कार्यक्रम बिथोलिएकाले रुपन्देहीमा कार्यक्रम गर्नु भन्ने पार्टीको निर्देशनअनुसार तत्कालीन जिल्ला सचिव स्व. रामकृष्ण ताम्राकार र पार्टी सभापतिबीचको सल्लाहमा सुरजपुरमा कार्यक्रम गर्ने तय भएको थियो ।

गिरिजाप्रसादलगायतका नेपाली कांग्रेसका नेताहरुलाई मार्ने उद्देश्यले नै सुरजपुरा घटना घटाइएको त्यसबेलाका प्रत्यक्षदर्शी बताउँछन् । कार्यक्रमस्थल जो तत्कालीन नेपाली काँग्रेसका जिल्ला सभापति पुष्पानन्दको घरबाट लाखौंको धनमाल लुटियो र आगजनीसमेत गरिएको नेपाली कांग्रेसका युवा नेता प्रजापाल गिरी बताउनुहुन्छ ।

विसं २०३९ मा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको निधनपछि पार्टी सङ्गठन निर्माणका लागि देशव्यापी अभियानका क्रममा विभिन्न ठाउँमा आक्रमण भएको र रुपन्देहीमा नेताहरुलाई नियोजित रुपमा हत्या गर्ने उद्देश्यले आक्रमण गरिएको गिरीको भनाइ छ । “प्रजातन्त्रको माग गर्दै देशैभरका विभिन्न जिल्ला दौडाहा गरेका कोइरालाले आफ्नो हरेक मन्तव्यमा तीन पटकसम्म सङ्गठन, सङ्गठन, सङ्गठन भन्ने गरेको पाइन्छ । उहाँको त्यतिबेलाको अभिव्यक्ति हेर्दा पुरै सङ्गठन निर्माण र विस्तारमा जोड दिएको पाइन्छ,” युवा नेता गिरीले भन्नुभयो, “प्रजातन्त्र पुनःस्थापना, प्रजातन्त्रलाई मजबुत गर्न, प्रजातन्त्रवादीहरु समाजमा सुरक्षित भएर बाँच्न र आवश्यक परेको समयमा निर्वाचनमार्फत पञ्चायतलाई परास्त गर्न पनि मजबुत सङ्गठन आवश्यक पर्ने उहाँको तर्क थियो ।”

सुरजपुरा घटनापछि नै नेपालको प्रजातान्त्रिक आन्दोलन २०४२ सालमा सत्याग्रहमा रुपान्तरित हुँदै २०४६ सालमा आइपुग्दा जनआन्दोलनबाट जनताबाट खोसिएको प्रजातन्त्र पुनःस्थापना भएको उहाँ बताउनुहुन्छ । सुरजपुरा घटना हालको देवदह नगरपालिका–३ सुरजपुरामा २०४० फागुन २० गते भएको घटना नेपाली कांग्रेसको इतिहासको एउटा कहालीलाग्दो घटना हो । त्यस घटनापछि कोइराला पार्टी सभापति हुँदा चार पटक सुरजपुरा पुग्नुभएको थियो भने राष्ट्रपति पौडेल सभामुख हुँदा एक पटक पुग्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर