वरिष्ठ पत्रकार लेखक रेग्मी

इन्टरनेट युग, हातहातमा सञ्चारका साधन भएको स्थिति र सोसल मिडियाको बाहुल्य भएको आजको बेलामा यत्रतत्र सर्बत्र सूचना, समाचार चुहिरहेको अनुभव हुन्छ ।

जो सुकै पनि चाहेको बेलामा समाचारदाता बनिरहेकोे, तस्बीर सन्देश फिंजाइरहेकोे र भाइरलसम्म पनि हुन सकिरहेको अवस्थामा समाचार समिति अटाउने स्थान बाँकी छ र १ अनि यस्तो स्थितिमा समाचार समिति पत्रकारिता सान्दर्भिक होला र रु भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो ।

अपेक्षा

यी प्रश्न बारम्बार उठ्छन् । समाजका अगुवा, राजनीति चालक, सत्ता सञ्चालक, विद्वान, सञ्चारविद् र आमसञ्चार माध्यममा संलग्नहरु उपयुक्त उत्तर दिने प्रयासमा छन् । त्यस क्रममा उनीहरु सबैले समाचार समितिको उपस्थिति आवश्यक भएको महसुस गरेको छर्लङ्ग हुन्छ ।

हालै २०८० साल निस्कन लाग्दा लेखकसँग काठमाडौंमा भएको केही अलग अलग यथार्थ तर अनौपचारिक कुराकानीमा व्यक्त भएका तिनको भनाइको सार यसरी खिच्न सकिन्छ ।

निष्पक्ष सूचना प्रवाहका लागि, विश्वसनीय तथ्यका लागि, समसामयिक सन्दर्भका लागि, उचित विश्लेषणका लागि, न्यायोचित व्याख्याका लागि, भरोसापूर्ण खोजबिनका लागि, सार्वजनिक चासोका लागि, खुला दृष्टिकोणका लागि समाचार समिति त चाहिने रहेछ, अन्य माध्यमले त्यसको विकल्प हुन चाहेर पनि व्यावहारिक नहुने पो रहेछ ।
सूचनाको बाढीबीच वा सन्देशका हल्लामाझ पनि पाइने सूचना—अपूर्णता, जानकारी—अल्पता वा शून्यता, भ्रम, शङ्का, अर्थ—अस्पष्टता, दिशाहीनताका समाधान तिनले समाचार कलाबाट खोजिरहेछन् । खास घटना, विचार, नीति, गतिविधि, कार्यक्रमलाई सरल रुपमा बुझिने गरी अनि त्यसका आधारमा निर्णय गर्न सहजीकरण हुने वा सुसूचित हुनसक्ने शैलीमा समाचार उत्पादन हुनुपर्ने तिनको ठम्याइ हो ।

समाचार कला

त्यस्तो उत्पादनको लागि आवश्यक सीप —समाचार कला—समाचार समितिको विशेषता हो । समाचारका हर चरण अवलोकन, विषय विज्ञता, भाषा प्रयोग, छनोट, सङ्कलन, प्रस्तुति, प्याकेजिङ्ग, सम्पादन, गेटकिपिङ्ग तथा वितरणमा समाचार समितिको कुशलता पत्रकारितामा अद्वितीय नै मानिन्छ ।

त्रिसट्ठीऔं वार्षिकोत्सबमा रमाइरहँदा राससका लागि उपर्युक्त प्रसंगबाट प्रेरणा लिने अवसर छ । ८० दशकको बाँकी वर्षका लागि भूमिका तय गर्न त्यसबाट थप ऊर्जा मिल्ला पनि । समाचारकला सन्देश सङ्कलनपूर्वको चिन्तनदेखि, खोजी, विश्वसनीय स्रोत सम्पर्क, सिर्जना वा प्रस्तुति वा पोस्टिङ्ग परसम्मका अनेक रिपोर्टिङ्ग सम्पादन डिजाइन फाँटमा फैलिएको हुन्छ ।

यस प्रसङ्गमा राससमा संलग्न पत्रकारले कलम चलाउँदा, क्यामेरा क्लिक गर्दा, मोबाइल वा कम्पुटर किबोर्ड छुँदा र मुख खोल्दा सधैँ ध्यानमा राख्नु पर्ने शब्द हो राष्ट्रिय । यसले सङ्केत गर्ने मूल्य र मान्यताले राससबाट सम्पूर्ण देशको विविधता, सूचना—आवश्यकता र आवाजलाई मुखरित गर्नुपर्ने अपेक्षा राख्छन् ।

समाचार प्रवाहमा समावेशीता, सदासयता र समानता भाव रहे मात्र सो सम्भव हुन जाने परिवेश तयार हुन्छ । अनि त्यस स्थितिमा सातै प्रदेश ७७ जिल्ला र विश्वका विविध स्थानमा बस्ने नेपाली सुसूचित हुनका लागि आवश्यक पहुँच र सहभागिताका अवसर खुल्छन् ।

राष्ट्रिय शब्दको हेक्का नराख्दा रासस सेवा खुम्चिने सम्भावना बढ्छ, बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मको औपचारिक जागिरे काममा परिणत हुने भय हुन्छ । अनि चौबीसै घण्टा सातै दिन र ३६५ दिन हुने सूचना प्रवाहको चुनौती बेहोर्न चाहिने उत्साह कहाँबाट पैंचो लिनु रु राष्ट्रिय शब्दलाई कार्यगत स्वरुप दिंदा समाचारलाई पठनीय वा ग्रहणीय मात्र होइन, दर्शनीय पनि पार्न सकिन्छ । सूचना प्रविधिका पछिल्ला उपकरण तथा सीपले तिनलाई प्रयोगकर्ताका लागि आकर्षक मात्र होइन, उपयोगी बनाउन पनि सम्भव छ ।

अबिरल व्यायाम

हो, यसका लागि रासस प्रतिनिधिहरु स्वयं जुर्मुराउनु पर्छ । प्रस्तुतिका अनेक आयामीय व्यायाममा जुट्नु पर्छ, कपी पेस्टको आदत बदल्नु पर्छ । प्रयोगकर्तालाई समय समयमा सुन्नुपर्छ, बुझ्नुपर्छ, समाचार सुंघ्ने, पहिल्याउने, उघार्ने सीपलाई तिखार्दै लैजानु पर्छ ।

सूचनाको प्रवाहकै लागि सञ्चारमाध्यमलाई पर्खिरहनु नपर्ने समयमा राससले व्यावसायिकस्तरलाई कायम राखेर मुलुकका तीनवटै तहका सरकारका गतिविधिका अतिरिक्त खोजी समाचारलाई प्राथमिकता दिन सक्नुपर्छ । सूचनाको प्रमाणीकरण गर्दै कुनै पक्षलाई हानी नपुग्ने गरी आम जनताको स्वार्थलाई केन्द्रमा राखेर प्रस्तुत हुन सक्नु नै समाचार समिति पत्रकारिताको विश्वव्यापी मान्यता रहेको छ ।

रासस जनशक्तिलाई समाचारकलामा निरन्तर फिट र पोख्त राख्नका लागि समय समयमा भाषिक, विषयक, प्रस्तुति शैलीगत सीपमा जानकारीमूलक अभ्यासका अवसर खोलिदिनु पर्छ, क्षमता वृद्धिको हुटहुटीलाई पूरा गर्नु अनिवार्य छ । यस्ता अभ्यासबाट निबन्धगत स्वरुपदेखि १४० वा २८० शब्दका ट्वीटरसम्मका संक्षिप्त सन्देस बोक्ने समाचार शैलीलाई प्रस्तुतिमा आवश्यकता अनुरुप अपनाउन चाहिने दक्षता मिल्छ ।

समाचार कलामा समय, प्रविधि, समाजको स्थिति, अनेक उमेरका नागरिकका आवश्यकता र आकांंक्षा अनुरुप गतिशील हुन सक्ने सिर्जनात्मक सम्भावनाहरु थुप्रै भएको कुरा छापादेखि इन्टरनेटसम्मको सञ्चार यात्रा र सन्देश प्रवाहले पुष्टि गरेको कुरा हो । त्यही क्रम आर्टिफिसियल इण्टेलिजेन्स वा कृत्रिम वा यान्त्रिक बुद्धिको बाहुल्य भएको अहिलेको अवस्थामा पनि कायम छ ।

प्रस्तुति शैलीमा परिवर्तन ल्याउने सिलसिला दिगो रुपमा चलाइरहँदा रासस जीवन्त भइरहन्छ, सचेत रहिरहन्छ, र सान्दर्भिक बनिरहन्छ । समाचार कलाका आलोचकहरुले औंल्याउने बुँदामा सुघार ल्याउन पनि त्यसबाट सहजीकरण हुन्छ नै ।

स्रोतको विश्वसनीयता, हिजोका असल अभ्यास र आजका सिर्जनात्मक शैलीलाई उनेर समाचार प्रवाह गर्दा राससलाई अहिलेको नेपालका पालिकाका चाहना, प्रदेशका सम्भावना तथा सङ्घीय नीति, योजना र कार्यक्रममा आवश्यकतानुसार प्रकाश पार्न सम्भव हुनेछ । अनि त्यहींनिर भेटिनेछ नेपालीलाई सूचना सशक्त पार्न राससबाट मिल्ने योगदान र त्यहींनेर फेला पर्नेछ समाचार समिति पत्रकारिताको सान्दर्भिकता । (वरिष्ठ पत्रकार लेखक रेग्मी राससका पूर्वप्रमुख समाचारदाता हुनुहुन्छ)

 

प्रतिक्रिया

सम्बन्धित खवर