काठमाण्डौं,२४ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध चयन हुनुभएमो छ । विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्ष एमालेले पनि समर्थन गरेकोले उहाँ निर्विरोध चयन हुनुभएको हो ।
यो जानकारी आज मंगलबार बसेको सो प्रदेशसभाको बैठकमा उपसभामुख सिर्जना दनुवारले गराउनु भएको हो ।
उतिबेलाका सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद खाली थियो ।
कोशी प्रदेशसभा सचिवालयले मंगलबारको लागि सभामुख पदको निर्वाचन गराउने सूचना जारी गरेको थियो ।आज त्यस पदका लागि राप्रपका विष्ट बाहेक अन्य कसैको उम्मेदवारी परेन । त्यसैले उहाँ सभामुखमा निर्विरोध चुनिनु भयो ।
कोशी प्रदेशमा राप्रपाका जम्मा ६ जना सदस्य छन् । त्यहाँ एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् ।
प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमरज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । त्यपछि सभामुखको लागि एकल प्रस्ताव पहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको जानकारी गराउनु भएको थियो ।
झापा गौरदहका ७० वर्षीय विष्ट समानुपातिक तर्फको प्रदेशसभा सदस्य हुनुहुन्छ ।
नव निर्वाचित सभामुख विष्टले आजै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिनुभयो ।