काठमाण्डौं, २२ पुस । आज दिनभर राजनीतिक दलहरु राष्ट्रियसभा सदस्यको निर्वाचानको लागि उम्मेदवार छनोटमा व्यस्त रहे । पटक पटकका बैठक र छलफलपछि साँझ सम्ममा काँग्रेस बाहेक अन्य दलले आआफ्नो उम्मेदवारको  टुंगो पनि गरेका छन् ।

राष्ट्रियसभामा हाल रिक्त रहेका १९ सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसको लागि भोलि पुस २३ गते उम्मेदवारी दर्ता  गराउनु पर्नेछ ।

सत्ता गठबन्धनमा रहेका दलहरू काँग्रेस, माओवादी, नेकपा एस र जसपाका नेताहरूले आजै बिहान मात्र १९ सिटको भागबण्डा सकेका थिए ।

त्यसपछि ती दलहरूले आ-आफ्नो दलको उम्मेदवार तय गर्न लागेका हुन् ।

यस मेसोमा माओवादी, जसपाले साँझसम्ममा उम्मेदवार तय गरिसकेका छन् भने काँग्रेसले भने आन्तरिक खिचलोको कारण उम्मेदवार तय गर्न सकेको छैन ।

सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये काँग्रेसले १० माओवादीले ६ नेकपा एसले २ र जनता समाजवादी पार्टीले १ सिट लिएका छन् ।

काँग्रेसले पाएको १० सिटमा शेखर कोइरालाको समूहले ४ दावी गरेको र  देउवा २ सिट मात्र दिन तयार भएकोले काँग्रेसलाई उम्मेदवार तय गर्न सकस भएको हो ।

आफूले पाएको ६ सिटमा माओवादीले आज दिउँसो उम्मेदवारको नाम तय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो पार्टीको पदाधिकारी बैठकले त्यो निर्णय गरेको हो ।

जस अनुसार माओवादीले कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दलाई उम्मेदवार बनाउने भएको छ ।

जनता समाजवादी पार्टीले पाएको १ सिटमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रौतहटकी पूजा चौधरी जसपा नेता गोविन्द चौधरीको छोरी हुनुहुन्छ ।

दुई सिट पाएको नेकपा एसले पनि साँझसम्म उम्मेदवारको टुंगो लगाइसकेको त छैन । तर यो दलले नेतात्रय माधव नेपाल, झलनाथ खनाल र घनश्याम भुसाललाई उम्मेदवार छान्ने जिम्मा दिएको छ ।

उता प्रमुख पतिपक्षी दल नेकपा एमालले १९ सै सदस्यको लागि आजै उम्मेदवार चयन गरेको छ । सत्तागठबन्धनले उसको पक्षमा भाग नछुट्यएपछि एमालेले यस्तो निर्णय गरेको हो । एमालेलाई राष्ट्रियसभामा केही सिट दिने पक्षमा प्रधानमन्त्री प्रचण्डले पहलसमेत गर्नुभएको थियो । तर काँग्रेस र नेकपा एसले नमाने पछि सहमति जुटेन ।

पार्टीका महासचिव शंकर पोखरेलले दिनुभएको जानकारी अनुसार एमालेले आफ्नोतर्फबाट कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर) तथा मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बागमतीमा महिलाबाट रोचकुमारी चौलागाईं (दोलखा), अन्यबाट त्रिलोचन निर्मल पौडेल (चितवन), अपाङ्गता-अल्पसंख्यकबाट विवेक देवकोटा (काठमाडौं) र दलितबाट ध्रुवराज विश्वकर्मा (धादिङ)लाई उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी, गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार तोकेको छ ।

अनि कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाउने भएको छ ।

यसैगरी राप्रपाले पनि आजै आफ्ना उम्मेदवार चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर