काठमाडौँ, २८ चैत । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गर्नुभएको छ । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गर्नुभएको छ । यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी हुनुभएको हो ।
निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित हुनुभएको छ ।
यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित हुनुभएको छ । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनुभएको छ ।सबै पोख्रेल प्यानलका हुन् ।सदस्यहरू अधिकांश पोखरेल प्यानलकै निर्वाचित भएका छन् ।
महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारी सहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।
अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जन पत्रकार संघ लगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो ।
