काठमाण्डौं, २७ चैत । नेपाली कांँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच सत्ता समीकरणबारे आज छलफल भएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकमा सभापति देउवाले कांँग्रेस केन्द्रीय कार्यसमितिले केही दिनअघि गरेको निर्णयबारे जानकारी गराउनुभएको थियो । प्रतिनिधिसभा पुनस्र्थापना भएको झण्डै दुई महिनापछि पहिलो पटक कांँग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको संयुक्त बैठक बसेको हो ।

आजको बुढानीलकण्ठ बैठकको सुरुमै देउवाले पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै वैकल्पिक सरकार बनाउनेबारे  माओवादी र जसपालाई आग्रह गर्नु भएको छ  ।

काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल गर्ने निर्णय गरेको छ ।

तर बैठकमा देउवाले पार्टीले काँग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपनि आफू अरुको नेतृत्वमा सरकार बन्छ भने त्यसमा पनि तयार रहेको बताउनु भएको थियो ।

सभापति देउवाले राखेको उक्त प्रस्तावलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘सकारात्मक छ’ भन्नुभएको बैठकमा सहभागी कांँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । अध्यक्ष दाहालले त्यसमा आफूहरु साथमा रहेकोसमेत अवगत गराउनुभएको थियो ।

बैठकमा माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठन गर्ने कांग्रेसको प्रस्तावको स्वागत गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको र निरंकुशतातिर जान खोजेकाले नै आफूहरुले संविधान र लोकतन्त्रको रक्षा गर्न चाहने शक्तिहरुको सरकार बनाउन चाहेको भन्दै उनीहरुले कांँग्रेसको निर्णयको स्वागत गरेका हुन् ।

जसपाका नेताहरुले भने सो प्रस्तावबारे आफ्नो पार्टीमा छलफल गरेर निर्णय गरेपछि पुनः बैठक बस्ने बताउनुभएको थियो ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र प्रवक्ता शर्मा, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहाल, नेताद्वय कृष्णबहादुर महरा र देवबहादुर गुरुङ, प्रवक्ता नारायणकाजी श्रेष्ठ एवं जसपाका तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, सङघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राईलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर