काठमाडौँ, २७ चैत । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणमा समस्या देखिएका स्थानमा तत्काल समुह परिचालन गरेर मर्मत गर्न थालेको छ ।
अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न चुहावट देखिएको स्थानमा मर्मम थालिएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो ।
ती स्थानमा ससाना समस्या देखिएकाृले पनि ठूला समस्या नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ ।”
लिमिटेले अहिले दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा वितरण गरिरहेको छ ।
अहिले कतिपय घरमा राम्रोसँग पानी आएको त कुनै घरमा राम्रो नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो ।
पानी नआएको ठाउँमा कसरी सुधार गर्ने भनी लिमिटेडका कर्मचारीले हेरेर समाधान गरिरहेको उहाँले बताउनुभयो ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । अहिले सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो ।
अर्को प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ ।
मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ ।
कतिपय स्थानमा बाँकी संरचना निर्माण सकाएर र दैनिक १७ करोड लिटर पानी आएपछि ती स्थानमा पनि पानी जाने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाँकी ठाउँमा पनि मेलम्ची खानेपानी विकास समितिले पानी सुन्दरीजलमा झारेपछि हामी वितरण गर्न तयार छौँ ।”
लिमिटेडले अहिलेसम्म महाँकाल चौर, अनामनगर, मीनभवन, खुमलटार, पानीपोखरी, महाराजगञ्ज र बालाजु गरी सात पोखरीबाट पानी वितरण गरिरहेको छ ।
तीमध्ये खुमलटारस्थित पोखरी मेलम्चीको पानी वितरणका लागि अहिले निर्माण भएको हो ।
बाँकी छ पोखरी पहिलेबाट नै वितरण हुँदै आएका पोखरी हुन् । अहिलेसम्म लिमिटेडले पुरानो पोखरीबाट पुरानै पाइप प्रणालीमा पानी वितरण गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले नयाँ पोखरी र पाइपलाइनको परीक्षणको काम गरिरहेको छ ।
