देउखुरी, १७ असार । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर नजिकै रहेका गन्धर्व हिजो शनिबार तुलसीपुरमा भेला भए । करिब ६३ घरधुरी रहेको सो टोलका उनीहरु मध्ये सारङ्गी बनाउन र बजाउन सीमित व्यक्तिलाई मात्रै आउँछ ।
ती गन्धर्भहरु लुम्बिनी प्रदेश सरकारले सुरु गरेको सारङ्गी बनाउन र बजाउन सिकाउने अभियानमा सहभागी हुन त्यहाँ भेला भएका हुन् ।
उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालय सङ्कटको यो पेसा बचाउन उनीहरुलाई सशक्तिकरण गर्न लागेको छ ।
सोही टोलका सारङ्गी बनाउने र बजाउने सीप भएका ७० वर्षीय शालिकग्राम गन्धर्व पुर्ख्यौली पेसा कतै लोपोन्मुख अवस्थामै पुग्छ कि भन्ने चिन्तामा हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “सारङ्गी बाजामा चारवटा तार र त्यसबाट ३६ स्वर निकाल्न सकिन्छ । यसमा त राष्ट्रियता पो झल्किन्छ । यो पेसालाई पछिल्लो पुस्ताले अपनत्व नगरिदिँदा चिन्ता लाग्छ ।”
सारङगी बाजा बनाउने र बजाउने सीप सिकाउँदै आउनुभएका गणेश गन्धर्वका अनुसा खमारी, मालागेडी, खिर्रो, काठको मुर्रा, बाख्राको छाला र सल्लाको खोटोबाट सारङ्गी बनाउन सकिन्छ । यस्तै सामग्रीबाट उहाँले २५ वटा सारङ्गी तयार पार्नुभएको छ ।
आफूले बनाएका सारङ्गीको बजार मूल्य रु पाँचदेखि ३५ हजार छ । एउटा सारङ्गी बनाउन पाँच दिन लाग्छ ।
उहाँले भन्नुभयो, “राज्यका तर्फबाट सीप प्रवर्द्धनका साथै बजारीकरणमा समेत विशेष सहयोग भएमात्रै सङ्कटको सारङ्गी बचाउन सकिन्छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सङ्कटमा परेको बाजा बचाउनका लागि पालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार गन्धर्व समुदायको सङ्कटमा परेको पेसा बचाउने दायित्व सरकारको हो । सारङ्गी बनाउन र बजाउने सीपको प्रवर्द्धन गरेमा यो पेसा व्यावसायिकरूपमा अघि बढ्न सक्छ ।
सीमित व्यक्तिमा रहेको सीपलाई युवापुस्तामाझ पुर्याउनका लागि कार्यालयले सारङ्गी बनाउने सीपको प्रवरद्धन गरेको छ । पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख दिनेश अधिकारीले लुम्बिनी प्रदेशका तीन जिल्लामा सारङ्गी बाजाका लागि सङ्गीत कक्षा र सारङ्गी बनाउने सीप प्रवर्द्धन गरिएको र उत्पादन गरिएका सारङ्गीको बजारीकरण गरिने जानकारी दिनुभयो । रासस
