काठमाडौँ, १६ असार । पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ ।  काठमाण्डौंमा आयोजित तीन दिने ‘पिम नेपाल चलचित्र महोत्सव’ को अवसरमा उहाँलाई सो सम्मान प्रदान गरिएको हो ।

जमलस्थित सांस्कृतिक सस्थानमा हिजो सम्पन्न महोत्सवमा सहभागी चलचित्र र नायक नायिकालाई सिने ‘अवार्ड’ प्रदान गरिएको थियो ।

प्रतिस्पर्धी चलचित्रतर्फ सर्वोत्कृष्ट अभिनेताको ‘अवार्ड आर्यन सिग्देल (डिसेम्बर फल्स), सर्वोत्कृष्ट अभिनेत्रीको ‘अवार्ड प्रमिला कार्की (बगान),  लाई प्रदान गरियो । त्यसैगरी निर्देशक सम्राट बस्नेत (लाखे), लेखक विकास सुवेदी (प्रकाश), भिएफएक्स समिर मियाले अवार्ड प्राप्त गर्नुभएको छ भने चलचित्र ‘प्रकाश’ सर्वोत्कृष्ट अवार्डले सम्मानित भएको छ ।

महोत्सवमा निर्णायकतर्फको अवार्डसँगै छोटा चलचित्रतर्फको अवार्डसमेत प्रदान गरिएको थियो ।

निर्णायक मण्डलले चलचित्र ‘नम्बरी सुन’, निर्देशक कमल एक्चै मगर (डेसान) र लेखक रोहित रुम्बा (लाखे) लाई अवार्ड गर्न गरेका थिए । यस्तै, समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएबापत निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, चलचित्र पत्रकार सचित खड्कालगायतलाई सम्मान गरिएको थियो ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष एवं चलचित्र निर्देशक माधवराज खरेलले महोत्सवमार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस किसिमका महोत्सवले हाम्रो कला र संस्कृति मिश्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान मद्दत गर्छ । त्यसैले पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौँ ।”

महोत्सवको समापन समारोहमा सङ्गीतकार शम्भुजित बासकोटा, अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नृत्य निर्देशक दिनेश पाख्रिनलगायत उपस्थित हुनुहुन्थ्यो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर