उदयपुर, २३ चैत ।ताप्ली गाउँपालिका–४ थान पोखरीस्थित हीरा तामाङको घरमा आगलागी हुँदा घरगोठ जलेर क्षति भई रु १५ लाखभन्दा बढीको नोक्सानी भएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार आइतबार साँझ तामाङको गोठबाट सल्केको र आगो घरमा समेत लाग्दा घरगोठ दुवै जलेर नष्ट भएको छ । घरगोठ दुवै नष्ट हुँदा घरमा रहेका लत्ताकपडा अन्नपात, नगद रु २५ हजारसमेत जलेर रु १५ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

आइतबार बेलुकी तामाङको घरगोठमा आगलागी भएपछि प्रहरीचौकी ताप्ली रुपाटरका प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा आएको बताइएको छ ।

त्यस्तै  सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब रु छ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताउनुभयो ।

कुन कारणले कसरी आगलागी भएको खुल्न नसकेको बताइएको छ । सो घरभित्र रहेको सन्दुक, लत्ताकपडा, भाडावर्तन, नगद जिन्सी तथा विभिन्न सरसमान गरी करिब रु छ लाख बराबरको समान नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीयवासी, प्रहरी र हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रमा लिएको थियो । यस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहँु बाली जलेर नष्ट भएको छ । करिब दुई बिघा जमिनमा लगाइएको गहुँ बाली नष्ट भएको स्थानीयवासी शैलेश यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर