झापा, ९ जेठ । बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू डोजर लगाएर भत्काएको छ । सो स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए ।

नगरपालिकाले यसअघि पटकपटक सार्वजनिक सूचना गरी हटियाको संरचना खाली गरिदिन आग्रह गरेको थियो । तर व्यवसायीहरूले टेरेका थिएनन् ।

हटियाको टहरालगायतका पुराना संरचना हटाएर सो स्थानमा नगरपालिकाले बहुतले बहुउद्देश्यीय व्यापारिक भवन बनाउने योजना बनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेक अनुसार नगर विकास कोषको अनुदान तथा ऋण लगानीमा व्यापारिक भवन बनाउने परियोजना स्वीकृत भइसकेको छ।

नगरपालिकाले त्यहाँका टहराहरू भत्काउने काम हिजो मध्याह्नदेखि  सुरु गरेको हो ।

सुरुमा बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश शिवाकोटी र आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको नेतृत्वमा त्यहहाँ पुगेका केही व्यवसायीहरूले डोजर रोक्न प्रयास गरेका थिए । डोजर चलाउन थालेपछि भने उतिसारो व्यवधान भएन ।

प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले दिनुभएको जानकारी अनुसार हटियाका संरचना भत्काउँदा स्थानीयवासीबाट कुनै अवरोध भएन र डोजर चल्न थालेपछि उनीहरूले आफ्ना सरसामान निकालेर लगे ।

व्यवसायीहरूले अर्को व्यवस्था नभएसम्म त्यहाँबाट नहट्ने माग राखेका थिए ।

डोजर चलाइएको स्थान वरपर ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर