काठमाडौं, २४ वैशाख । नेपाली नागरिकताको प्रमाणपत्र बनाएको अभियोगमा १० जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
भारतको उत्तर प्रदेशका स्थायी बासिन्दा उनीहरुले नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिएको पाइएको जानकारी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले दिनुभयो ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, सिरहा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएका थिए ।
उनीहरुलाई काठमाडौंको कलंकी, संखमुल, ललितपुरको पाटन लगायतका क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनीहरुसँग नेपालको मतदाता परिचय पत्र र भारतीय परिचय पत्र पनि फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरु नेपालमा विभिन्न व्यवसाय गर्नेहरु रहेको जनाइएको छ ।
