काठमाडौँ, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ ।

मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उहाँले तीन ढुङ्गेधाराबाट पानी खोली शुभारम्भ गर्नुभएको हो । मेलम्चीको पानीले जमिनमुनिको पानी कम दोहन गर्नसमेत सहयोग मिलेको उहाँले बताउनुभयो । मेलम्चीबाट आउने स्वच्छ पानीले उपत्यकावासीमा राहत मिलेको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले पानीका स्रोत संरक्षणसँगै वायु प्रदुषण कम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

“प्रधानमन्त्री भएका बेला कृष्णप्रसाद भट्टराईले सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुभएपछि चर्चामा आएको मेलम्ची खानेपानी आयोजना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा सम्पन्न भएको छ, पानी र जीवनबीच अभिन्न सम्बन्ध रहेकाले पहिलो चरणको मेलम्ची सम्पन्न हुँदा उपत्यकावासीलाई केही राहत भएको छ, दोस्रो चरणको काम पनि यथासम्भव छिटो सम्पन्न हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपभोक्ताका धारामा पानी नआइकन शुल्क र जरिवाना तिर्नुपर्ने प्रणालीमा सुधार गर्न सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयले आज राजधानीमा मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सेवाग्राहीले सेवा नपाइकन शुल्क जरिवाना तिर्नुपरेको सुन्दा आफूलाई अचम्म लागेको बताउनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नयाँ जडान भएका एक लाख १० हजार धारामध्ये ८० हजार धारामा पानी वितरण शुरु भएको बताउनुभयो । धाराबाट थापेर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको पानी पिउन सकिने उहाँले बताउनुभयो ।

गत फागुन १० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं. १ अम्बाथानस्थित सुरुङबाट हालिएको पानी २६.५ किमी दूरी पार गर्दै फागुन २२ गते सुन्दरीजल आइपुगेको थियो । पहिलो चरणमा सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी हालेर परीक्षण गरिएको थियो । महाशिवरात्रिका अवसरमा दुई दिन मेलम्चीको पानी वाग्मतीमा बगाएर पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई स्नान गर्ने अवसरसमेत दिइएको थियो ।

मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइने भए पनि परीक्षणका क्रममा रहेकाले आजदेखि साढे आठ करोड लिटर पानी वितरण गरिएको छ । केही दिनमा १७ करोड लिटर नै पानी वितरण गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणमा याङ्री र लार्केको  पानीसमेत राजधानी ल्याइने योजना छ । दोस्रो चरणको कामसमेत शुरु भइसकेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर