गुल्मी, १५ वैशाख । गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ । इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको हो ।

जिल्ला वन अधिकृत जीवन पङ्गेनीले दिएको जानकारी  अनुसार बस्नेतले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि निजलाई पक्राउ गरिएको हो ।

आगजनीमा संलग्न बस्नेतमाथि गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको रु एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो । उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ । आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो ।

वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने प्रावधान रहेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर