म्यान्मार, १९ चैत । म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था अझ नराम्रो हुन सक्ने र नियन्त्रणबाहिर जान सक्ने खतरा औँल्याएका छन् ।
सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक रूपमा घातक बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रु कर्कवूडले बीबीसीलाई बताउनुभयो ।
उहाँँँका अनुसार म्यान्मारमा सैन्य कू यता मारिएका पाँच सयभन्दा बढी व्यक्तिमध्ये ९० प्रतिशतले गोली प्रहारबाट ज्यान गुमाएका छन् ।
तीमध्ये धेरैको टाउकोमा गोली हानिएको र निसानेबाजहरूलाई परिचालन गरिएको कर्कवुडले बताउनुभएको छ ।
सेभ द चिल्ड्रेनका अनुसार गत माघ १९ पछि सरकारी सुरक्षाकर्मीको कारबाहीमा परेर कम्तीमा ४३ बालबालिका मारिएका छन् ।
त्यहाँको अवस्थालाई दुःस्वप्न जस्तो भन्दै उक्त अधिकारवादी संस्थाले छवर्षे बच्चा पनि सेनाद्वारा मारिएको बताएको छ ।
एउटा स्थानीय पर्यवेक्षण समूहले देशभरि अहिलेसम्म ५३६ जनाको मृत्यु भएको तथ्याङ्क दिएको छ ।
सेनाको कडा निन्दा
शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध भएको हिंसाको राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।
एक दिनअघि परिषद्को एउटा आपत्कालीन बैठकमा चीनले म्यान्मारका सैनिक नेतामाथि प्रतिबन्ध लगाउने प्रस्ताव पुनः अस्वीकार गरिदिएको थियो ।
सैनिक नेतामाथि प्रतिबन्ध लगाउने कदमले तनाव मात्र बढाउने राष्ट्रसङ्घका लागि चिनियाँ दूतले दाबी गरेका थिए ।
अघिल्लो शनिवार एकै दिन १०० जनाभन्दा बढी प्रदर्शनकारी मारिएपछि ब्रिटेनको आग्रहमा परिषद्को आपत्कालीन बैठक डाकिएको थियो ।
सू चीविरुद्ध गम्भीर अभियोग
सबैभन्दा कान्छो पीडितको उमेर ६ वर्ष रहेको पाइएको उक्त संस्थाले उल्लेख गरेको छ ।
यसैबीच, नेत्री आङ सान सू चीविरुद्ध देशको गोपनीयतासम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोग पनि लगाइएको पाइएको छ ।
सू चीसहित उहाँका चारजना सहयोगीमाथि गत साता नै अभियोग लगाइए पनि १४ वर्षसम्म जेलसजाय हुन सक्ने अभियोग पनि लगाइएको कुरा अहिले थाहा भएको हो ।
निर्वाचनमा सू चीको नेशनल लीग फर डेमोक्रेसीले बहुमत ल्याएपछि चुनावमा धाँधली भएको भन्दै सेनाले गत फेब्रुअरीमा सत्ता हातमा लिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर