दमौली, ११ बैशाख । प्रतिनिधिसभाको रिक्त सदस्य लागि भएको तनहुँ क्षेत्र–१ को उपनिर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले २६ हजार आठ सय २७ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
मतगणनाको प्रारम्भिक परिणामदेखि नै वाग्लेले अग्रता हासिल गर्दै आउनुभएको छ ।
आज राति १०ः३२ बजे सार्वजनिक मतपरिणामअनुसार उहाँले २६ हजार आठ सय २७ मत प्राप्त गर्नुभएको छ । यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार चार सय ५४ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले सात हजार दुई सय ८९ मत प्राप्त गर्नुभएको छ ।
तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको छ ।दमौली स्थित जिल्ला समन्वय समितिको सभाहलको दुई ठाउँमा बाँकी मत मतगणना भैरहेको छ ।
निकटतम प्रतिस्पर्धीसितको अहिलेको मतान्तर हेर्दा वाग्लेको जित सुनिश्चितै देखिएको छ ।
मतगणना हिजो राति पौने बाह्र बजेबाट सुरु गरिएको थियो । भोलिसम्म मतगणना सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।