काठमाण्डौ, १० बैशाख ।  आज आइतबार बारा, चितवन र तनहुँमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

उपनिर्वाचन बारा र चितवनको क्षेत्र नं २ र तनहुँको क्षेत्र नं १ मा भएको थियो । मतदान समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको थियो ।

तीनै ठाउँको मतगणना आजै रातिबाट सुरू हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनु भएको छ ।

उहाँका अनुसार तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको छ । अब मुचुल्का उठाउने र गणना केन्द्रमा मतपेटिका पुर्‍याउने काम हुन्छ । त्यसपछि मतगणना सुरू हुन्छ । पर्सि ( मंगलबार)साँझसम्म मतगणनाको सबै परिणाम आउँछ ।

चितवन-२ को नयाँकिरण माविको मतदान केन्द्रमा होहल्ला र नारावाजी भएर साढे तीन घण्टा मतदान रोकिएको थियो। त्यहाँ रास्वपाका कार्यकर्ताले होहल्ला गरेका थिए । रास्वपाले माफी मागेपछि ३. बजेबाट मतदान पुनः सुरु भएको थियो ।

सबैतिर मत कम खस्यो

तनहुँ १ मा भएको यो उपनिर्वाचनमा ५१.७० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार त्यहाँ ६३ हजार ७५७ मत खसेको छ ।उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा १ लाख २३ हजार ३०५ मतदाता थिए ।

गत मंसिरमा भएको चुनावमा भने त्यहाँ ५४.३६ प्रतिशत मत खसेको थियो  ।

त्यसैगरी  चितवनको क्षेत्र २ मा यसपटक ६२ प्रतिशत मत खसेको छ ।मंसिरको चुनावमा त्यहाँ ६७.६३ प्रतिशत मत खसेको थियो ।

चितवन २ मा कुल मतदाता १ लाख २४ हजार ६९८ छन् ।

बारामा  यो उप चुनावमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

गत मंसिरको चुनावमा  बारा-२ मा  ६४ प्रतिशत मत खसेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर