चितवन, १० बैशाख । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा होहल्ला भएपछि एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी र होहल्ला गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो ।
अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिनुभयो ।
नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् ।
सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ ।” त्यहाँ १२ बजेसम्म ३७ प्रतिशत मत खसेको बताइएको छ ।