काठमाण्डौं,९ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि उहाँले गर्नुभएको प्रस्ताव सभाको बहुमतबाट अस्वीकृत भयो ।
गण्डकी प्रदेशसभाले मुख्यमन्त्री अधिकारीलाई विश्वास नगरेसँगै अब त्यस प्रदेशमा वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा अर्को सरकार बन्नेछ ।
संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । ठूलो दलको हैसियतले काँग्रेसले मुख्यमन्त्रीको दावी गरेको छ । पाण्डे नेपाली काँग्रेसको त्यस प्रदेशको संसदीय दलको नेता हुनुहुन्छ ।
अतः काँग्रेसको तर्फबाट गोरखाका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिने लगभग निश्चित छ ।
आजको मतदानमा विश्वासको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो । प्रस्तावका पक्षमा नेकपा (एमाले)का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जनाले मतदान गर्नुभएको थियो ।
विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक गरी ३५ मत गरेको थियो ।
गण्डकी प्रदेशसभामा माओवादीका आठ जना सभा सदस्यमध्ये एक सभामुख रहनुभएको छ ।