अन्तर्वार्ता
काठमाडौँ, १ वैशाख । सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौँ गुणा बढी छ । आर्थिक विकासमा फड्को मार्नुको मुख्य कारण राजनीतिक नेतृत्वको दूरदर्शिता, कामप्रति जनताको निष्ठा र राष्ट्रिय भाव नै भएको दक्षिण कोरियाका पूर्वमन्त्री डा ली नाम की बताउनुहुन्छ । कोरियन सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झन्डै चार दशक कार्य गरेका पूर्वमन्त्री लीले देशको विकास हुन त्यहाँको बलियो र दूरदर्शी नेताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकसित राष्ट्र बन्न सकेको बताउनुहुन्छ ।

नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्र्याउन सकिने डा लीको भनाइ छ । हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसिएसनका अध्यक्षसमेत रहनुभएका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गर्नुहुन्छ । नेपालको विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँ सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिनुहुन्छ । प्रस्तुत छ, गैरअवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा साताव्यापी नेपाल भ्रमणमा आउनुभएका पूर्वमन्त्री लीसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीको अंश ः

छोटो अवधिमै कोरिया समृद्ध हुनुको रहस्य के होला ?
–उत्तर र दक्षिण कोरियाबीच सन् १९५० देखि १९५३ सम्म लगातार तीन वर्षसम्म चलेको युद्धबाट धेरै स्रोत साधन नष्ट भए भने धेरैको ज्यान गयो । पैतीस वर्षसम्म जापानको उपनिवेशमा रहँदा जापानी सेनाको चरम दमन र शोषण सहनुपरेको थियो । १९४५ मा जापानबाट स्वतन्त्र हुँदा छाएको खुसी १९४८ मा उत्तर र दक्षिण कोरिया विभाजनसँगै फेरि हाम्रा दुःखका दिन सुरु भएका थिए । युद्धपश्चात् व्याप्त गरिबी, अभाव र भोकमरीबाट हाम्रा पुर्खाले नराम्ररी दुःख भोग्नुपरेको थियो । त्यतिबेला अमेरिकाले दिएको मकैकोे पीठोलाई पानीमा उमालेर खाई भोक टार्नुपरेको थियो । सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको सम्झन चाहन्छु ।

यस्तो अवस्थाबाट कोरियालाई आजको अवस्थामा लैजान तत्कालीन राष्ट्रपति पार्क जङ हीको ठूलो योगदान छ । जनतालाई जसरी पनि भोको राख्ने छैन भन्ने उहाँको अठोट थियो । स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्नका लागि आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने उहाँको दूरदर्शिता नेतृत्व क्षमता र दृढ इच्छाशक्तिले नै कोरियालाई आधुनिक र विकसित राष्ट्रतिर दो¥याउन सफल भयो । देश विकासका लागि राजनीतिक स्थिरता, कुशल र दूरदर्शी राजनीतिक नेतृत्व चाहिन्छ भन्ने कुरा कोरियाले आज पुष्टि गरेको छ । त्यतिबेला उहाँले योजना विभाग बनाएर देशको आवश्यकताअनुसारको योजना तर्जुमा, बजेट व्यवस्था र प्रभावकारी कार्यान्वयनका लागि अनुगमन प्रणालीमा जोड दिनुभयो । मैले त्यही आयोगमा रहेर काम गर्ने अवसर पाएँ । त्यतिबेला हामीहरु चौबिसै घण्टा अफिसमा बसेर विभिन्न योजना बनाउने काम गथ्र्यौं । देश विकास गर्न निर्यातमा जोड दिनुपर्छ भन्ने उहाँको सोच थियो । यसका लागि सडक सञ्जाल विस्तार गर्नुपथ्यो । उहाँकै निर्देशनमा पुसानदेखि सोलसम्मको झन्डै चार सय किमीको सडक डेढ वर्षमा तयार भयो । त्यतिबेला त्यो सडक निर्माण गर्न करिब चार हजार लाख डलर चाहिन्थ्यो तर राज्यसँग थिएन । उहाँले २० हजार नर्सलाई जर्मनमा काम गर्न पठाएर ऋण ल्याई सडक बनाइएको थियो । यसपछि सरकारी र निजी कम्पनीले निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न थाले ।

राष्ट्रपतिले हरेक महिना बैठक राखेर निर्देशन दिनुहुन्थ्यो । निर्यात गर्ने उद्योगलाई सस्ते ब्याज, कर छुट र विभिन्न सहुलियत दिइएकाले धेरै कम्पनी स्थापना भए । १९७० को दशकमा टेक्सटाइल्सजस्ता साना उद्योगबाट सुरु भएको कोरियाको व्यापार व्यवसाय असीको दशकमा आउँदा फलाम स्टिल, अटोमोबाइल, मेसिनरी सामान र सेमी कन्डक्टर्सका सामानहरुको उत्पादन गरी निर्यात गर्ने सम्म पुगिसकेको थियो भने नब्बेको दशकमा स्टिल, अटोमोबाइल मेसिनरी सामान, सेमी कन्डक्टर्सका सामानहरुका साथै पानीजहाज, इलेक्ट्रोनिक्स, सूचना प्रविधिसम्बन्धी सामग्री निर्यात गर्न थालेको छ । राष्ट्रपति पार्क जङ हीपछिका राष्ट्रपति र सरकारहरुले पनि उहाँका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएका छन् । कृषिप्रधान देशबाट औद्योगिक राष्ट्र बन्न पुग्यो । यसरी कोरियाले छोटो अवधिमै आफूलाई माथि उठाउन सम्भव भएको हो । राष्ट्रप्रति संवेदनशील एउटा कुशल र दूरदर्शी नेतृत्वले कसरी देशको भविष्य बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण कोरियाले दिन सकेको छ ।

कोरियाको अनुभवका आधारमा नेपालमा आर्थिक विकासको सम्भावना कत्तिको देख्नुहुन्छ ?
– प्राकृतिक स्रोत साधनका दृष्टिले नेपाल कोरियाभन्दा पनि अथाह सम्भावना भएको मुलुक हो । तर त्यसको उपयोग हुन नसक्दा एकातिर स्रोत साधन खेर जाने र अर्कोतिर तिनैबाट बनेका सामग्रीहरु अन्यत्रबाट आयात गर्नुपर्ने हुँदा दोहोरो नोक्सानी भएको छ । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यसका लागि सरकारले बाह्य लगानी भित्र्याउन नीतिगत व्यवस्था गर्नाका साथै निजी क्षेत्रलाई सहजीकरण गर्नु जरुरी हुन्छ ।

नेपालमा कोरियाली लगानी भित्र्याउन सकिने सम्भावना कस्तो रहेको छ ?
–नेपाल कोरियाको एक असल र पुरानो मित्रराष्ट्र हो । नेपालले कोरियाका जनता भोकभोकै भएको बेला खाद्यान्न पठाएर ठूलो गुन लगाएको छ । नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकासमा फड्को मार्न सक्नेछ । हरेक हिसाबले सम्भावना भएको नेपालले विकासमा छलाङ लगाउन सक्नेछ । तर यसका लागि उपयुक्त लगानीमैत्री वातावरणको सुनिश्चित हुनुप¥यो । नेपाल विगतमा कमजोर नभए पनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको हो भन्ने मलाई लागेको छ । बजेटलाई सानासाना योजनामा छर्नु हुँदैन । मुख्य प्राथमिकताको योजनामा एकमुष्ट लगानी गरी जतिसक्दो छिटो त्यसलाई सम्पन्न गरेपछि त्यसबाट देशले प्रतिफल पाउँछ । कोरियाले पनि यही नीतिअनुसार निर्यातजन्य उद्योगधन्दाहरुमा लगानी ग¥यो । निजी कम्पनीहरुलाई राज्यले नै ग्यारेन्टी बसेर पनि विदेशमा काम गर्न पठायो ।

अर्को कुरा विकासका लागि राजनीतिक स्थिरता जरुरत पर्छ । छिटोछिटो राजनीतिक परिवर्तन हुँदा नीतिगत अस्पष्टता रहन्छ र विदेशी लगानी भित्र्याउन गाह्रो हुन्छ । राज्यले योजनामा प्राथमिकीकरण गर्न जान्नुपर्छ । सबै उद्योगलाई राज्यले सेवासुविधा दिन सक्दैन । आयातलाई प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्छ । कोरियाले जस्तै नेपालले पनि समयसापेक्ष कृषिमा आधिनीकीकरण गर्नु जरुरी छ । कृषिमा व्यापक आधुनिकीकरण गरिएकै कारण अहिले कोरिया २.३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ ।

नेपाल भ्रमणमा रहँदा राष्ट्रिय योजना आयोग, लगानी बोर्ड तथा विभिन्न बैंकका प्रमुखहरुसँग भेटवार्ता गर्नुभयो । उहाँहरुसँगको कुराकानीबाट तपाइँ नेपालमा लगानी गर्ने सम्भावना कस्तो देख्नुभयो त ?

– यसपटकको साताव्यापी नेपाल भ्रमणका क्रममा अर्थमन्त्री, लगानी बोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग लगानीका सम्भावनाका बारेमा भेटवार्ता गर्ने अवसर मिल्यो । सो अवसरमा नेपालका लागि कुन कुन क्षेत्रमा के कस्तो सहयोग चाहिएको छ, त्यसका लागि अनुमति दिनुहोस् हामीले विश्वको लगानी र प्रविधिको समन्वय गरेर विकास गर्छौं भनेर भनेको छु । नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्बन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको छ । नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गर्न सकिन्छ । लगानीको पूर्ण सुरक्षाको पूर्ण सुनिश्चितता भएमा न्यूनतम् २० अर्बदेखि माथिको लगानी ल्याउन सकिन्छ ।

नेपालबाट हजारौँ युवा कोरियालगायत विश्वका विभिन्न देशमा रोजगारीमा गएका छन्, उनीहरुले पठाएको विप्रेषणबाट देश धनी हुन सक्छ ?
–सुरुमा कोरियाले पनि यसरी नै आफ्ना देशका युवाहरुलाई विदेश पठाएर नै विदेशी पैसा आर्जन गरेको हो । कोरियनहरु सस्तो श्रमिकका रुपमा सउदी अरब, अफ्रिका तथा तत्कालीन पश्चिम जर्मनीका तेल तथा कोइला खानीहरुमा काम गर्न जाने गर्दथे । त्यहा कोरियनहरुलाई औसतभन्दा कम पारिश्रमिक दिइने र थ्री डी काममा लगाइन्थ्यो । एकातिर देशमा स्रोत साधन र उद्योगधन्दा नभएर रोजगारीका अवसरहरु नहुदा कोरियन युवाहरु विदेसिन बाध्य थिए भने अर्कोतिर कोरियनहरुले विदेशमा अत्यन्त कठिन र जोखिमपूर्ण काम गर्नुपरेको थियो । त्यतिबेला उनीहरुले पठाएको पैसाले देशमा बिस्तारै उद्योगधन्दा स्थापना गरी आज उल्टै विदेशका लाखौँ कामदारलाई ल्याएर रोजगारी दिन सकेका छौँ । भियतनाम युद्धमा अमेरिकाले कोरियालाई सेना पठाउन आग्रह ग¥यो । हामीले ३० हजार सेना पठायौँ तर उनीहरुको तलब अमेरिकाले नै दियो । त्यो रकमले पनि धेरै योजना सम्पन्न भएका थिए । यसरी छोटो अवधिमा रेमिट्यान्सबाट चलेको देशमा रोजगारीका लागि विदेसिएका युवाहरुलाई फिर्ता बोलाएर तिनीहरुलाई स्वदेशमै रोजगारी दिन सफल भएको हो । आज नेपालबाट पनि झन्डै ४० हजारभन्दा बढी कामदार कोरियामा गएका छन् । कोरियामा जाने नेपाली कामदारको सङ्ख्या तेस्रो स्थानमा छ । उनीहरुले कमाएर पठाएको पैसाको सदुपयोग भएको देखिँदैन । राज्यले नै त्यो पैसालाई एकीकृत गरी कुनै उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भने ती कामदारहरुले पनि राम्रो प्रतिफल पाउन सक्छन् । अन्यथा जति नै रेमिट्यान्स आए पनि देश धनी हुन सक्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर