
काठमाडौँ, २ चैत । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।
संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले आजदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिनुभयो ।
यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधको प्रतिलिटरको कृषक खरिद मूल्य प्रतिलिटर खरिद मूल्य न्यूनतम रु ६५ कायम गरिएको उहाँले बताउनुभयो ।
मन्त्रिपरिगाद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ । निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाडौँ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेछ । त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको संस्थानले जनाएको छ ।
फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । अधिकारीका अनुसार सबै दूधमा प्रतिप्याकेट साढे ५ रुपैयाँ बढाइनेछ ।
घिउ, पनिर, दहीलगायतको मूल्य बढाउने विषयमा थप छलफल गरेर तोकिने छ ।