काठमाडौँ, १६ चैत । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसले माग गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु भएको छ भने केही युवा सम्पर्क बाहिर रहेको घटनाप्रति कांग्रेसले ध्यानार्कषण भएको जनाएको छ ।
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गरी घटनाको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न सरकार समक्ष आग्रह गर्नुभएको छ ।
बागलुङ जिल्लाको गुल्मी र प्यूठानसंगको सिमाना बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ, यसको गहिरो अनुसन्धान गर्न तथा दोषीहरुलाई अविलम्ब पक्राउ गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ ।
घटनामा प्रकाश कुंवर र दिपक नेपाली दुई युवाले जीवन गुमाएका छन् । कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् । दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउंदछ विज्ञप्तिमा उल्लेख छ ।
घटनाको वास्तविक विवरण लिन, स्थानीयबासीसंग संवाद गर्न र जीवन गुमाएका युवाहरूका परिवारजन भेट्न नेपाली कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र पूर्व सभापति प्रकाश शर्मा पौडेल सहित पार्टीको टिम सोमबार बिहान घटनास्थल पुग्दैछ ।
यसैगरी आज कांग्रेस बागलुङले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ । झडपपछि भिरबाट खसाल्दा निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको मृत्यु भएको छ । मृत्यु भएका कुँवर कांग्रेस जिल्ला सदस्य र दमाई सक्रिय कार्यकर्ता हुन् ।
जिल्ला सभापति दिपेन्द्रबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा कांग्रेस जिल्ला सदस्य कुँवर र सक्रिय कार्यकर्ता दमाईमाथि सुनियोजित रुपमा साङ्घातिक हमाल गरी योजनाबद्ध रुपमा हत्या गरिएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भई हत्या गरेको विज्ञप्तीमा उल्लेख छ ।
