काठमाण्डौं, १६ फागुन । विशेष अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गरेको छ । गुरुङ मनाङबाट प्रतिनिधि सभामा निर्वाचित सदस्य हुन् ।
अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले आज यस्तो फैसला गरेको हो ।
अदालतले राजधानीको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालन गर्न सस्तो भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा गुरुङलाई दोषी ठहर गरेको हो ।
यो मुद्दामा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने पनि दोषी ठहर भएका छन् ।
बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।
अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएकाहरुको सजाय यही फागुन २५ गते तोकिनेछ।
दोषी ठहर भएका हरुमा बद्रीप्रसाद न्यौपाने (तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा समाज कल्याण परिषद् अध्यक्ष), प्रमोद मेहता (समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष), कुञ्जबिहारीप्रसाद चौधरी (तत्कालीन कोषाध्यक्ष), रवीन्द्रकुमार यादव (तत्कालीन सदस्य सचिव), मोहनराज शर्मा ( तत्कालीन सदस्य), मदनकुमार लाल कर्ण (तत्कालीन सदस्य), टेकबहादुर गुरुङ (मेला सञ्चालक, भृकुटी मण्डप फनपार्क) र रवीन्द्र गुरुङ (फनपार्क प्रमुख सञ्चालक) रहेका छन् ।