काठमाडौ, १५ फागुन । एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरे अनुरुप सरकारमा सहभागी पार्टीका मन्त्रीहरुले आज प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्।

सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठकले  सरकारबाट अलग हुने निर्णय गरेको छ ।

पुस १० गते सरकार गठन गर्दा भएको सहमति पालना नभएको जनाउँदै सरकारबाट बाहिरने निर्णय गरेको बैठकपछि आयोजित पत्रकारसम्मेलनमा उपप्रधान तथा अर्थमन्त्री समेत रहनु भएका पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले सरकारमा रहेर काम गर्ने सोच रहेपनि प्रधानमन्त्रीबाट एमाले र पार्टीबाट सहभागी मन्त्रीबारे गरिएको पछिल्ला अभिव्यक्ति र व्यवहारले सरकारमा बस्न नसकिएको आरोप लगाउनुभयो ।

मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राई हुनुहुन्छ ।

गत पुस १० गते प्रधानमन्त्री दाहालको नेतृत्वमा गठन भएको सरकारमा एमाले सहभागी थियो । यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारबाट बाहिरिने निर्णय गर्दै प्रधामन्त्री पुष्पकमल ‘दाहाल प्रचण्ड’ लाई राजीनामा बुझाइसकेको छ ।—

प्रतिक्रिया

सम्बन्धित खवर