काठमाण्डौं, १५ चैत । म्यानमारको सैनिक शासनविरुद्ध उत्रिएका आन्दोलनकारीमाथि त्यहाँको सेनाले चलाएको गोली लागेर हिजो शनिबार मात्रै १०० भन्दा बढी आम नागरिकको मृत्यु भएको छ ।

गत फेब्रुअरी १ मा निर्वाचित प्रतिनिधिहरूलाई नियन्त्रणमा लिएर त्यहाँको सेनाले सत्ता हातमा लिएको थियो । त्यसयता म्यानमारका विभिन्न शहरमा विरोधमा प्रदर्शन हुँदै आएको छ ।

हिजो मात्रै सयभन्दा बढी मानिस मारिएपछि मृतक आन्दोलनकारीको संख्या ४०० नाघेको रोयटर्स,वीवीसी लगायतका अन्तरराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार सुरक्षा कर्मीको गोलीबाट शनिबार ११४ जना मारिएका छन् । स्थानीय सञ्चारमाध्यम ‘म्यान्मार नाउ’ अनलाइनले १३ वर्षीया किशोरीसहित कम्तीमा ११४ जना मारिएको उल्लेख गरेको छ ।

सेनाको गोली लागेर मारिनेमा वालवालिका र बृद्धसमेत छन् ।

त्यहाँ सैनिक सत्ताविरुद्धको आन्दलन जति तीव्र र व्यापक हुँदै गएको छ सत्ता हत्याएको सेना त्यति नै उग्र र दमनकारी हुँदै छ ।

शुक्रबार मात्रै त्यहाँका एक सैनिक नेताले आन्दोलनकारीलाई चेतावनी दिंदै टाउको र ढाडमा ताकेर गोली हान्न सकिने बताएका थिए ।

त्यसको लगत्तै शनिबार एकैदिन सयभन्दा धेरै मान्छे त्यहाँ मारिएका हुन् ।

अमेरिका, वेलायत र युरोपियन युनियनले शनिबार भएको त्यो आम जनहिंसाको विरोध गरेका छन् ।

म्यान्मारमा सैनिक कु विरोधी आन्दोलन चर्कंदै गएपछि अमेरिका, बेलायत, क्यानडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक नेतृत्वमाथि प्रतिबन्ध लगाइसकेका छन् । सेनाले जननिर्वाचित सरकार बहाली गरी पक्राउ परेका लोकतन्त्र पक्षधर नेताहरूलाई विनासर्त रिहा गर्नुपर्ने उनीहरूको माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर