भक्तपुर, १० पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेबीच ओली निवास बालकोटमा छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन आव्हान गर्नुभएको एक हप्ताको समय आज पाँच बजे सकिनु अघि सो भेटवार्ता भएको हो ।

सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ओलीसँग छलफलका लागि पुगेका हुन् ।

सो भेटवार्तामा एमाले, माओेवादी र रास्वपाका शीर्ष नेता पनि सहभागी रहनुभएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । सो भेटवार्ताअघि एमाले अध्यक्ष ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच पनि भेट भएको थियो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गर्नुभएको थियो । गठबन्धन दलले आफ्नै आगामी नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर