काठमाडौ, ७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधानको मात्र उल्लघंन नगरेर मुलुकको परराष्ट्र नीतिको पनि धज्जीया उडाउने काम गर्नुभएको छ ।
उहाँले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) द्वारा आयोजित ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) सम्मेलनलाई बुधबार सम्वोधन गरेर धज्जीया उडाउने काम गर्नु भएको छ ।
उहाँले गरेको सम्बोधनप्रति परराष्ट्र मन्त्रालयले समेत असन्तुष्टि जनाएको छ।
कुनै पनि सुरक्षा छातामा संलग्न नहुने नेपालको परराष्ट्र नीतिविपरीत उहाँले उक्त सम्मेलनलाई सम्बोधन गरेको भन्दै असन्तुष्टि जनाइएको हो।
कूटनीतिक मामिलाका कतिपय जानकारले जिएसआई सम्मे–लनलाई सम्बोधन गर्नु उहाँको अपरिपक्व निर्णय भन्दै यो नेपालले अवलम्बन गर्दै आइरहेको असंलग्न परराष्ट्र नीतिको उल्लंघन भएको ठहर गरेका छन् ।
राष्ट्रपति भण्डारीले उक्त सम्मेलनलाई सम्बोधन गरेर पठाएको रेकर्डेड भिडियो बुधबार जिएसआई सम्मेलनमा प्रसारण गरिएको थियो।
चिनियाँ सुरक्षा छातासँग जोडिएको उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई प्रस्ताव आएपछि सरकारले सो नेपालको परराष्ट्र नीति प्रतिकूल हुने भन्दै नजान सुझाव दिएको थियो। तर राष्ट्रपतिले भने सरकारी अधिकारीहरूको आग्रहको बेवास्ता गर्दै जिएसआई सम्मेलनलाई रेकर्डेड भिडियो मार्फत सम्बोधन गर्नुभयो ।
संसद्बाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा सरकार र राष्ट्रपतिबीच द्वन्द्व चलिरहेको अवस्थामा सरकारको सुझावलाई समेत बेवास्ता गर्दै उक्त सम्मेलनमा सहभागी भएको विषयले राष्ट्रपति र सरकारबीचको द्वन्द्वलाई अझ बढाउने काम गरेको छ।
