काठमाडौं, १२ भदौ । नेपाल नागरिकता विधेयक राष्ट्रियसभाले विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता पठाइएको सो विधेयक प्रतिनिधि सभाबाट जस्ताको त्यस्तै पास भएको थियो ।
सो विधेयक समितिमा छलफल पछि पारित गरेर राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत गरिने छ ।
यसअघि गुहमन्त्री बालकृष्ण खाणले सो विधेयक पुनःविचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनरविचारका लागि फिर्ता भएको नेपाल नागरिक विधेयक (पहिलो संशोधन) २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भएको थियो ।
संघीय संसदको दुवै सदनबाट पारित भइ नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो ।
राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।
