ललितपुर, ३ चैत । नेकपा एमाले (माधव नेपाल) समूहले प्रधानमन्त्री केपी ओलीले पार्टी विभाजनको प्रयास गरेको आरोप लगाएको छ ।
नेपाल समूहका तर्फबाट आज यहाँ आयेजित पत्रकार सम्मेलनमा नेता योगेश भट्टराईव्दारा जारी प्रेस विज्ञप्ति मार्फत सो आरोप लगाइएको हो ।
विज्ञप्तिमा सर्वोच्च अदालतको २३ फागुन, २०७७ फैसला अनुसार एमाले पूर्ववत अवस्थामा फर्किएको र सोही अनुसार पार्टी चल्नुपर्ने नेपाल पक्षको धारणा रहेको छ ।
विज्ञप्तिमा ओली समूहले बैठकमा नाममा गुटका गतिविधि गरेको, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गरेको पनि जनाइएको छ ।
३ जेठ, २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएको थियो ।
विज्ञप्तिमा नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको पनि स्वतः पुनःस्थापना भन्ने हो उल्लेख गरिएको छ ।
केन्द्रीय कमिटीको बैठकका नाममा फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको नेपाल पक्षव्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपाल पक्षले फागुन २८ गते गरेको सम्पूर्ण निर्णय खारेज हुनुपर्ने बताउँदै आएको छ भने ओली भने सो निर्णयहरु खारेज नहुने स्पष्ट गरेको छ ।
ओली पक्षले चालेका कदमविरुद्ध आफूहरु दृढतापूर्वक उभिएको र राष्ट्रिय कार्यकर्ता भेलामार्फत यो सन्देश आधारभूत तहसम्म पुर्याउने नेपाल पक्षको तयारी छ ।