नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अलमलमा नलागी पार्टीमा एकताबद्ध हुन नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।
पार्टीको भातृ सङ्गठन अलिख नेपाल महिला सङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विगतमा आफूलाई हटाएजस्तो गरी कसैलाई अध्यक्ष वा पार्टी सदस्यबाट ननिकालेको तर कार्यसम्पादनका लागि केही नेतालाई कामको जिम्मेवारी दिएको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी चैत ७ गते केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बोलाएको जानकारी गराउँदै भन्नुभयो, “सुनिन भन्न पाइने छैन, अनुपस्थित रहँदै जानुभयो भने विधानको व्यवस्था भएअनुसार हुँदै जानेछ, त्यसैले सुन्ने गरी भनेको छु चैत ७ गतेको बैठकमा आउनुहोला ।”
शुक्रबार माओवादी केन्द्रमा रहेका नेता÷कार्यकर्तालाई पनि एकतामा कायम हुँदै अघि बढ्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।
उहाँले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन पनि चुनौती दिदै भन्नुभयो केपी ओलीलाई ठेगान लगाउन आए बाटोमै ठेस लाग्ने छ ।
प्रधानमन्त्रीबाट हटे पनि अबको २० महिनापछि नेकपा (एमाले) दुईतिहाइका साथ सिंहदरको मूलढोकाबाट प्रवेश गर्ने प्रधानमन्त्री ओलीको जिकिर थियो । उहाँले प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको समेत बताउनुभयो ।
“सरकारमा भए देश बनाउँछौँ, प्रतिपक्षमा भए देश बनाउने तयारी गर्छौँ”, प्रधानमन्त्रीले थप्नुभयो ।
प्रधानमन्त्री ओलीले एउटा शक्ति दुईतिहाइको पार्टी भत्काइ पार्टी ध्वस्त पारेर टालाटुली जोडेर टाले सरकार बनाउन उद्दत रहेको र उनीहरु प्रधानमन्त्री खाइदिनुस् न भनेर कुदिरहेका बताउनुभयो । उहाँले अस्थिरताको खेल खेल्ने र बाटाबाटामा अध्यक्षको पगरी बाँधेर हिँड्ने तत्वलाई जनताले सबक सिकाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले उनीहरुको उद्देश्य नै देश बर्बाद गर्ने रहेको र अरुका लागि ‘कम्फरटेबल’ सरकार बनाउने योजना रहेको सुनाउनुभयो ।
मुलुकमा नक्कली लोकतन्त्रवादीहरु सक्रिय रहेको र उनीहरुले देशलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले एउटा समूह विकासको लहर ल्याउने केपी ओलीलाई हटाउनुप¥यो, तपाईँले प्रधानमन्त्री खाइदिनुप¥यो भनी किस्ती बोकेर विभिन्न ठाउँमा निवेदन हाल्न पुगेको बताउँदै आफू कसैको अगाडि किस्ती बोकेर निवेदन हाल्न नजाने प्रष्ट पार्नुभयो । उहाँले आन्दोलनको नेतृत्व गर्ने पार्टीलाई ध्वस्त पार्ने तरिका चिरेरै छाड्ने चेतावनी दिनुभयो ।
वर्तमान सरकारले आफ्ना निम्ति नभई मुलुकको सुशासन र जनताका निम्ति अभियान चालिरहेको र खुट्टा तान्दातान्दै केही वर्षभित्रैमा विकासका योजना साकार पारेरै छाड्ने प्रधानमन्त्रीले उद्घोष गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विसं २०५१ बाट मासिक रु १०० बाट शुरु भएको वृद्धाभत्ता अहिले रु तीन हजार पु¥याएको र रु पाँच हजार पु¥याउने लक्ष्य रहेको जानकारी गराउनुभयो ।
उहाँले भत्ता रु चार हजार भने छिट्टै बनाउने पनि उद्घोष गर्नुभयो । उहाँले लडाइँमा होमिएर शहीद भएका परिवार, घाइते भएका लडाकु तथा काख रित्तिएका बाबुआमा छन् तर सशस्त्र द्वन्द्वका सञ्चालकलाई त्यसको सम्झना नरहेका बेला अहिलेको सरकारले पीडा सुनेर मल्हमपट्टी लगाउन थालिसकेको जानकारी गराउनुभयो ।
सरकारले विकास निर्माणका गतिविधिदेखि सडकका बेवारिसेलाई आश्रय दिने, सडक बालबालिकाको उद्धार र संरक्षण, शिक्षा, स्वास्थ्य रोजगारका कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, राष्ट्रपति महिला उद्धार कार्यक्रमका साथ समृद्धिको यात्रामा सरकार रहेको बताउनुभयो । किसान परिचयपत्र, नागरिक एप्सका साथ डिजिटल नेपालको अवधारणालाई सरकारले साकार पार्दै लगेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रालाई कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो ।
मुलुकसामु आन्दोलनलाई गलत बाटोमा जान नदिन देशभरि सन्देश लैजानुपर्ने बेला आएको उहाँको भनाइ थियो । त्यसको अगुवाइ नारीले गर्नुपर्नेमा उहाँको जोड थियो । गाउँमा जाँदा उक्त सन्देश र सामाजिक जागरणको चेत लिएर जान पनि महिलाहरुलाई आग्रह गर्नुभयो । घरघरमै देखिने नदेखिने सामाजिक पीडालाई चिर्दै अघि बढ्नका लागि पनि महिला जागरण जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
योग्यता क्षमताले सांसद भयो भने कसैले अपमान गर्न खोज्ने प्रवृत्तिप्रति सचेत हुन आग्रह गर्दै उहाँले त्यस्ता व्यक्तिको मानसिक चिन्तनमै अपरेशन गर्नुपर्ने बताउनुभयो । सामाजिक न्याय र समानता देख्न नसक्ने प्रवृत्ति समाजमा अझै कायम रहेको र त्यसका लागि सशक्त भएर लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । संसारमा बोक्सी नै नहुने जिकिर गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “संसारमा बोक्सी हुन्थ्यो भने यत्रो विरोधी किन कराउँथे मेराविरुद्ध ।”
उहाँले बोक्सी भनेको महिलालाई अपमान गर्ने कुरा भएको र यस्ता सामाजिक अन्धविश्वासलाई हामीले समाजभित्रै चिर्नुपर्नेमा जोड दिनुभयो । छाउपडी कुप्रथाको विषय कोट्याउँदै प्रधानमन्त्री ओलीले परिवारका जुन सदस्यले छाउगोठमा बस् भन्छ उसैलाई गोठमा जाऊ भन्न सक्नुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।