काठमाडौँ, २९ फाल्गुन । ओली समूहको केन्द्रीय कमिटी बैठकले विधान विपरित पार्टी पदाधिकारी, प्रदेश इन्चार्ज र विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेपछि नेकपा एमाले (माधव नेपाल समूह)को भेलाले ती विभागहरुमा समानान्तर प्रमुखहरु तोकेको छ ।
भेलाले शुक्रबार साँझ ओली पक्षीय केन्द्रीय कमिटी बैठकले गरेको निर्णयको भत्सर्ना गर्दै चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको छ ।
भेलाले प्रदेश १ को इन्चार्जको जिम्मेवारी भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई, गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णाली प्रदेशको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिम प्रदेशको जिम्मा नेता रावललाई तोकेको छ ।
यस्तै, युवा विभागको जिम्मा रघुजी पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, प्रचार विभागको जिम्मा योगेश भट्टराई, महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई र बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई तोकिएको छ ।