काठमाडौं, फागनु २५ गते । नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण हुने भए १५ दिनभित्र नियमानुसार प्रक्रिया पूरा गरी आउन निर्वाचन आयोगले समय निर्धारण गरेको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम विवादका विषयमा गरेको उत्प्रेषणको आदेशपछि आयोगको आज बसेको बैठकको निर्णय अनुसार सो गरेको हो ।
आयोगले सर्वोच्च अदालतको आदेश अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई समेत अलग अलग दलका रुपमा रहेको जानकारी गरेको छ ।
यसैगरी आयोगले दर्ता गराएको सन्ध्या तिवारीको अध्यक्षतामा रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र गोपाल किराँतीको नाममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई भने पार्टीको नाम संशोधन गर्न समेत पत्राचार गरेको छ ।