काठमाडौँ, ८ माघ  ।   डा मिता सिंहद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘द स्ट्रगल अफ गणेशमान सिंह’ नामक पुस्तक विमोचन गरिएको छ । गणेशमान सिंह फाउण्डेशनले प्रकाशन गरेको उक्त पुस्तकको कांग्रेस नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले आज विमोचन गर्नुभयो ।

कार्यक्रममा नेता सिंहले मुलुकमा प्रजातान्त्रिक मूल्य, मान्यता स्थापना गर्न र समाज रुपान्तरणका लागि स्व गणेशमान सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंहले गर्नुभएको योगदानलाई विदेशमा समेत चिनाउन अङ्ग्रेजी भाषामा लेखिएको कृतिले सहयोग पुग्नेछ, लेखक धन्यवादको पात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

फाउण्डेशनका कार्यकारी अध्यक्षसमेत रहनुभएका नेता सिंहले गणेशमान सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन गर्नुभएको सङ्घर्ष र गणेशमानलाई नयाँ पुस्तामा चिनाउनका लागि फाउण्डेशनले विभिन्न किसिमका रचनात्मक कार्य गर्दै आइरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा नेता सिंहले संविधानको मर्म र भावनाअनुसार सबै चल्नुपर्ने बताउनुभयो । स्थानीय र सङ्घीय तहको निर्वाचनलाई लिएर विभिन्न दलका नेताहरुका विभिन्न भनाइ बाहिर आएका भन्दै उहाँले संविधानअनुसार सबै चल्नुपर्ने स्पष्ट पार्नुभयो । कम्युनिष्ट सरकारले काम गर्न नसकेपछि विशेष परिस्थितिमा गठबन्धन सरकार बनेको भन्दै यो सरकारबाट जनताले धेरै अपेक्षा गर्न नहुने उहाँको भनाइ थियो ।

लेखक कनकमणि दीक्षितले दुई अधिनायकवाद (राणा र शाही शासन) विरुद्ध लड्नुभएका गणेशमान सिंहको बारेमा नयाँ पुस्तालाई चिनाउन पुस्तकले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राजनेतामा हुनुपर्ने गुण गणेशमान सिंहसँग भएको उहाँको भनाइ थियो । दीक्षितले लोकतन्त्र अहिले पनि खतरामा पर्दै गएको बताउनुभयो ।

प्राध्यापक कपिल श्रेष्ठले सङ्घर्षशील, निस्वार्थी, बलिदानी र त्यागी नेता गणेशमान सिंह भएको बताउनुभयो । नेपाली जनता र लोकतन्त्रका लागि कसैसँग सम्झौता नगर्ने नेता स्व सिंह भएको उहाँको भनाइ थियो । लेखक डा सिंहले युवापुस्तालाई गणेशमान सिंहले प्रजातन्त्र ल्याउनका लागि दुईपटक (विसं २००७ र २०४६) गरेको सङ्घर्षलाई बुझाउनका निम्ति उक्त पुस्तक तयार पारेको बताउनुभयो । राजनीतिमा नैतिकता भयो भने प्रजातन्त्र स्थापना हुन्छ भन्ने मान्यता गणेशमान सिंहमा भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर