महेन्द्रनगर, १७ फागुन । दुईतिर भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषध कारोवार गर्ने नेपाली तथा भारतीय गिरोहमाथि प्रहरीले कारवाही बढाएको छ ।

खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्ने गिरोह पक्राउ गर्न केही महिनायता सक्रियरुपमा लागेको कञ्चनपुर प्रहरीले लामो समयदेखि खैरो हिरोइन र ब्राउनसुगरलगायतका लागुऔषधको कारोवार गर्ने मुख्य गिरोहको पहिचान गरिसकेको छ । पछिल्लो केही दिनयता लागुऔषध नियन्त्रणमा गति बढाएको प्रहरीले भारतीय र नेपाली गिरोहका मुख्य दुई व्यक्ति पक्राउ गरेको  छ ।

डेढ महिनामा लागुऔषध कारोवार र उपभोग गर्ने ३२ पक्राउ गरेको प्रहरीले ठूलो परिणाममा पक्राउ परेका लागुऔषध कारोवार गर्ने  भारतीय र नेपाली युवकलाई पक्राउलाई आफ्नो सफलता मानेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँ लामो समयदेखि भारतबाट लागुऔषध आयात हुने र यहाँबाट लुकीछिपी चरेश भारत जाने गरेको छ ।

भारतको पिलिभित जिल्ला बम्मनपुर पधिरत शारदा बस्ने ३२ वर्षीय सुच्चा सिंहलाई पक्राउ गरेपछि भारतमा बसेर नेपालमा लागुऔषध पैठारी गर्ने गिरोहमाथि प्रहरी जानकार छ ।

“अझै दुई भारतीय त्यो क्षेत्रबाट लामो समयदेखि यहाँ लागुऔषध ब्राउनसुगर पढाउने गरेका छन् । “भारतीय गिरोहका पहिचान भइसकको भए पनि यहाँको सीमा क्षेत्रमा पैठारीका लागि नआउँदा नियन्त्रणमा लिन सकिएको छैन ।” सोही गिरोहका सिंहलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी हिरासतमै राखिएको  छ ।

त्यसैगरी माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित यहाँको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरीलाई पक्राउ गरेको थियो । अभियुक्त चौधरी पनि सो क्षेत्रमा सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न हुने गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार ब्राउनसुगर र खैरो हिरोइन उच्चकोटीको लागुऔषध हो ।

प्रहरीले कञ्चनपुर र कैलालीसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा समेत लागुऔषध पैठारी गर्ने गिरोहमाथि कारवाही थालेको छ । अन्यत्र चरेस, नाइट्राभेटलगायतका लागुऔषध बढी प्रयोग गर्ने गरेको देखिए पनि यहाँ ब्राउनसुगर र खैरोहिरोइनको प्रयोगकर्ता र कारोवारमा बढी संलग्न देखिएको प्रहरीले जनाएको छ । योजनाबद्ध अपराधबाहेक सबै घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता देखिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार लागुऔषधका २६ वटा मुद्दा चलिरहेका छन् ।

कारसहित अर्का नाइके पक्राउ

लागुऔषध नियन्त्रण अभियानमा सक्रिय रहेको प्रहरीले दुई दिन अघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र लागुऔषध ब्राउनसुगरसहित दुईलाई नियन्त्रणमा लिएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट भारतीय यूके ०६ एक ३४२५ नम्बरको कारसहित सोही ठाउँका २९ वर्षीय विक्रम ठकुल्ला र २९ वर्षीय दीपेन्द्र सुनारलाई पक्राउ गरेको हो ।

“कारमा लागुऔषध ओसारपसार गरिरहेकोे सूचनाका आधारमा झलारीबाट दुवै अभियुक्तलाई पक्राउ गरेका हौँ ।” प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले भन्नुभयो, “दुवैको साथबाट ४६ पिस ब्राउन सुगरका प्याकेट र चार दशमलव ८० ग्राम खुल्ला धुलो फेला पारेको छ ।” प्रहरी अनुसन्धानले झलारीबाट पक्राउ गरेका युवक कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्ला बैतडी र डडेल्धुरासम्म ब्राउनसुगर पठाउने गरेका थिए । “समाज सुधार्न यहाँ युवालाई सही बाटोमा लगाउन आवश्यक देखियो ।” उहाँले भन्नुभयो, “अब लागुऔषधको जालो भत्काउने अभियानमा प्रहरी लागिसक्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर