काठमाडौँ, १९ पुस   नेकपा(माओवादी केन्द्र)को आठौँ महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको छ । आइतबार निर्वाचित भएका २३६ केन्द्रीय सदस्यहरू मध्येबाट नेता नारायणकाजी श्रेष्ठले उहाँलाई अध्यक्षमा प्रस्ताव र अर्का नेता कृष्णबहादुर महराले समर्थन गर्नुभएको थियो ।

केन्द्रीय समितिको बैठक जेष्ठ सदस्य दिनानाथ शर्माको अध्यक्षतामा बसेको थियो । जेष्ठ सदस्य शर्माले अध्यक्षमा प्रचण्ड निर्वाचित हुनुभएको घोषणा गर्नुभयो । माओवादीले आफ्नो संरचनामा पहिले सम्बन्धित समिति छनोट गर्ने र सोही समितिमा निर्वाचन वा सहमतिका माध्यमबाट पदाधिकारी चयन गर्ने नयाँ प्रणालीको विकास गरेको छ । सोही आधारमा आजको बैठकले अध्यक्षमा प्रचण्डलाई प्रस्ताव गरेको हो ।

समाजवादी क्रान्तिलाई अगाडि बढाउने तथा मुलुकको समग्र हितका लागि अध्यक्षमा प्रचण्ड नै उपयुक्त रहेको निष्कर्षसहित नेता शर्माले केन्द्रीय समितिमा उहाँको नाम प्रस्ताव गर्नुभएका थियो । केन्द्रीय समितिले ध्वनीमतका आधारमा उहाँको नाम सर्वसहमतिले पारित गरेको हो ।

माओवादीको शनिबार पारित भएको विधानअनुसार अब पदाधिकारी छनोटको प्रक्रिया अगाडि बढाइने भएको छ । माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ । त्यसमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव एक जना, उपमहासचिव दुई, सचिव तीन, कोषाध्यक्ष एक रहने व्यवस्था छ । विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था छ । त्यसमध्ये आइतबार २३६ जना निर्वाचित भएका थिए । बाँकी रहेका ६३ जना मनोनित हुनेछन् ।

माओवादी जनयुद्ध, जनआन्दोलन, संविधानसभाबाट संविधान, गणतन्त्रको घोषणा तथा कार्यान्वयन, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत एजेण्डाहरूको सुत्रधारको रूपमा रहेको माओवादीको नेतृत्वमा लामो समयदेखि अध्यक्षका रूपमा प्रचण्ड नै हुनुहुन्छ ।

टुटफुट तथा एकताको प्रक्रियाबाट अगाडि बढेको माओवादी आन्दोलनलाई समय सापेक्ष रूपमा अगाडि बढाउने दायित्व आफू र आफूहरूको काँधमा रहेको नवनिर्वाचित अध्यक्ष प्रचण्डले आजको सम्बोधनमा समेत उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाँको राजनीतिक जीवन

मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मनुभएका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधानसभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशिल हुनुहुन्छ ।

पछिल्लो पटक आज पुनः अध्यक्षमा निर्वाचित हुनुभएपछि उहाँले महाधिवेशनमा उन्नत खालको लोकतान्त्रिक अभ्यास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादी नेतृत्व प्रचण्डको आदेशमा कार्यकर्ताले ताली पड्काएर चुनिएको होइन । मैले आदेश दिएर पनि यो कमिटी निर्वाचित भएको होइन । पार्टीका नेता तथा कार्यकर्ताले नै आफ्नो नेतृत्व चयन गरेको हो ।”
उहाँले आयोजक समिति र स्थायी समितिको प्रस्तावका रूपमा महाधिवेशनको हलले केन्द्रीय समितिलाई निर्वाचित गरेको उहाँको भनाइ छ । महाधिवेशनमा देश विकास र समृद्धिबारे छलफल भएको तथा देशलाई समृद्ध बनाउने विषयमा बृहत् बहस भएको उहाँको भनाइ छ । उहाँले महाधिवेशनले आफूलाई अध्यक्षका रूपमा काम गर्नुस् भन्ने जिम्मेवारी दिएको उहाँको कथन छ ।

उहाँले नारायणी विद्या मन्दिर मावि शिवनगर–२०२९, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा (२०३३–०३५) सालमा अध्यापन गर्नुभएको थियो । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । विसं २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । तत्कालीन नेकपा (चौम)मा प्रवेश गर्नुभएका उहाँले २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीको जिम्मेवारी सम्हाल्नुभयो । विसं २०३६ मा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य बन्नुभएका उहाँ २०३८ सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय महासचिवमा निर्वाचित हुनुभयो ।

राजनीतिक यात्राको क्रममा २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य, २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य र २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित हुनुभयो । तत्कालीन मशालका महामन्त्री मोहन वैद्यको प्रस्तावमा नै उहाँ महामन्त्रीमा चयन हुनुभएको हो ।

यस्तै, २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्री निर्वाचित हुनुभएका अध्यक्ष प्रचण्ड, २०५१ सालमा पुनः नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित हुनुभयो । विभिन्न कम्युनिस्ट घटकहरूको एकता पछि एकता केन्द्र गठन भएको थियो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्ष हुनुभयो ।

यस्तै विसं २०५८ मा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर तथा २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक हुनुभएको थियो । विसं २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौँ क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभयो । तत्कालीन नेकपा(माओवादी) संविधानसभाको ठूलो दलका रूपमा स्थापित भयो । ठूलो दलको नेताका रूपमा उहाँ २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।

यस्तै, २०६९ मा हेटौँडामा आयोजना गरिएको एकताको सातौँ राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अध्यक्षमा निर्वाचित हुनुभयो । त्यस्तै २०७१ मा विराटनगर आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), अध्यक्षमा पुनः निर्वाचित हुनुभयो । यस्तै, २०७३ साल विभिन्न १० वटा समूहका रहेका माओवादी समूहको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), गठन भयो । सो पार्टीको अध्यक्षमा समेत प्रचण्ड नै निर्वाचित हुनुभयो । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दास्रो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

यस्तै, २०७५ जेठ ३ गते तत्कालीन नेकपा(एमाले) सँग पार्टी एकता गर्दै नेकपा निर्माण गर्नुभएका अध्यक्ष प्रचण्ड सो पार्टीमा पनि अध्यक्षको रूपमा हुनुहुन्थ्यो । गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी फरक पार्टीका रूपमा अस्तित्वमा आएपछि उहाँ पुनः अध्यक्षकै रूपमा कार्यरत हुनुहुन्थ्यो । नवनिर्वाचित अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३), प्रचण्डका सङ्कलित रचनाहरू (भाग १ र २) र प्रचण्डका सङ्कलित सैन्य रचनाहरू पुस्तक प्रकाशित छन् ।

‘देश निर्माणका लागि इमान्दार प्रयास गर्छु’

अध्यक्षमा चयन भएपछि उहाँले आफ्नो काँधमा देश, जनतालाई अगाडि बढाउने र परिवर्तनका समपा पूरा गर्ने दायित्व आइपरेको र त्यसमा इमान्दार प्रयास गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । जनयुद्ध छाडेपछि बिग्रिएको माओवादीले आठौँ महाधिवेशनमा आइपुग्दा धुलोमैलो झारेको उल्लेख गर्दै उहाँले अब आफू देश र जनताको हितमा अझै बढी क्रियाशील हुने दुढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेतृत्वका रूपमा मेरा लागि यो अन्तिम अवसर हो । नेपाल राष्ट्र र नेपालीका लागि केही गर्न मेरा लागि यो अन्तिम अवसर र अन्तिम चुनौती पनि हो ।”–रमेश लम्साल
–––

प्रतिक्रिया

सम्बन्धित खवर