काठमाडौँ, १५ पुस। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
बिहीबार सार्वजनिक बिदा
नेपाल सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा आज साँझ प्रकाशित सूचनामा जनाइएको छ ।तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।
