ललितपुर, २९ मङ्सिर । पाटनको तःबहालअर्थात् मच्छिन्द्र बहालमारहेको रातो मच्छिन्द्रनाथ मन्दिरमा हरेक बिहान भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
गत बिहीबार रातो मच्छिन्द्रनाथलाई तःबहाल मन्दिरमा ल्याएर राखेपछि दर्शनका लागि भक्तजन आउन थालेका छन् ।
हरेक दिन बिहान ३।३० बजे डेढ घण्टा ‘नाम सङ्गति’पाठ गर्ने गरिएको हुँदा मन्दिर सबेरै खुल्ने गरेको तःबालमाहालका पूजारी अमरराज शाक्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्दिरमा जुनसुकै बेला पनि भक्तजन भित्रि रहेता पनि विशेष गरी हरेक बिहान भने घुइँचो लाग्ने गर्छ ।” मन्दिरमा फाट्टफुट्ट विदेशी मुलुकका नागरिकका साथै केही लामा पनि आउने क्रम जारी रहेको शाक्यले जानकारी गराउनुभयो । सो मन्दिरमा विशेष गरेर सक्रान्ति, अष्टमी र पूर्णिमा तथा आइतबार र बिहीबारका साथै शिवरात्री, फागुपूर्णिमाका दिन आफूहरुले दिउँसो परम्परागत मृदङ्भजन गर्ने गरेको मच्छिन्द्रनाथ मृदङ भजनमण्डलका प्रमुख अस्तलाल महर्जनले बताउनुभयो ।
‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वामत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकारिने गरिएको छ । किंबदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उहाँले पशुपति मृगस्थलीमा नव नागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभइ अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजाबन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।
