काठमाडौँ, १३ फागुन  । गैँडा मारी खाग तस्करी मुद्दाका फरार तीन अभियुक्तलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका–५ बस्ने राजेन्द्र क्षेत्री भन्ने ३१ वर्षीय पुरन रेउले, काभ्रेपलाञ्चोक मन्डन देउपुर नगरपालिका–१० ज्यामिरे बस्ने आशिष लामा भन्ने ४८ वर्षीय आइत तामाङ र रसुवा नौकुण्ड गाउँपालिका–३ बस्ने ज्वाला भन्ने ३६ वर्षीय ज्ञानबहादुर रुम्बा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग बिक्री व्यवसाय गरेको मुद्दाका फरार हुँदै आएका रेउलेलाई काठमाडौँ धापासीबाट तथा तामाङ र रुम्बालाई सीतापाइलाबाट पक्राउ गरेको हो । उनीहरुले गैँडाको खाग ओसारपसार एवं खरीद बिक्री गर्न प्रयोग गरेको ना२च १४५८ नम्बरको गाडी र एक थान हतकडीको चाबीसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई बरामद सामानसहित आवश्यक कानूनी कारवाहीका लागि आजै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा पठाइएको ब्युरोका प्रहरी उपरीक्षक गङ्गा पन्तले बताउनुभयो ।

साथै सोही मुद्दामा संलग्न रहेका अन्य चार जना अभियुक्तलाई ब्युरोबाट खटिएको प्रहरीले यसअघि नै काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कानूनी कारवाहीका लागि चितवन राष्ट्रिय निकुञ्ज पठाइसकेको छ ।

यसैबीच दुई महिलालाई टर्की पु¥याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका जरङ्खु डेरा गरी बस्ने गोरखा नगरपालिका–१ का जीवन भट्ट र काठमाडौँ माछापोखरी डेरा गरी बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका–४ की पूर्णिमा सिर्पाली रहेका छन् । भट्टलाई काठमाडौँ सोल्टीमोडबाट र बस्नेतलाई काठमाडौँ माइतीघरबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर