सुर्खेत, १५ मङ्सिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाको आज बैठकबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
उहाँले हिजोको बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्नुभएको थियो ।
विश्वासको मतका लागि उहाँले राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ ।
प्रमुख प्रतिपक्ष दल एमाले अनुपस्थित रहेको उक्त बैठकमा उहाँलाई
काँग्रेससहित नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजबादी), र राप्रपाको समर्थन रहेको थियो ।
कर्णाली प्रदेशमा ३५ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा एमालेको १३, माओवादी केन्द्रको १२, काँग्रेसको ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभाको बैठकमा बोल्दै कर्णालीको गरिबी अन्त्य गर्न सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अघिल्लो सरकारले गरेका कामहरुलाई निरन्तरता दिएर यहाँको गरिबी, रोगभोग र अशिक्षाविरुद्ध अघि बढ्ने उहाँको भनाई छ । उहाँले अब चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउनुभयो ।