काठमाण्डौं, २७ भदौ ।कोइराला परिबारबाट नेपाली काँग्रेसको सभापतिमा दुइजना उम्मेदवार खडा हुने भएका छन् ।काँग्रेसका वर्तमान महामन्त्री वीपी कोइरालाका पुत्र शशाङ्क कोइरालाले हिजो शनिबार आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेपछि यो अवस्था देखिएको हो ।
कोइराला परिवारकै अर्का सदस्य नोना कोइरालाका पुत्र शेखर कोइरालले पनि सभापतिमा उठ्ने विचार कार्यकर्ता माझ राख्दै आउनुभएको छ । औपचारिक रूपमा त्यस्तो घोषणा नगरे पनि विगत डेढ बर्षदेखि उहाँ यो अभियानमा लाग्नुभएको छ । यता केही महिना अघिदेखि त सम्पर्क कार्यालय नै खोलेर उहाँ आफ्नो अभियानलाई झन तीब्र पारिरहनुभएको छ ।
यो अवस्थामा महामन्त्री शशांकले औपचारिक रुपमै सभापतिमा लड्ने घोषणा गर्नुभएको हो ।
नवलपुरको देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले हिजो घोषणा गर्नुभयो : “गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु ।”
यद्यपि महामन्त्री कोइराला काँग्रेसको आगामी सभापति सहमतिमै बनाउनुपर्छ भन्दै आउनुएको छ तर चुनाव भएमा आफू त्यस प्रक्रियाबाट नभाग्ने बताउनुहुन्छ । कोइरालाले हिजो स्पष्ट पार्नुभयो, “सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो । त्यससैले मैले सभापतिमा लड्ने घोषणा गरेको हुँ ।”
कोइराला परिवारबाट सकेसम्म एकजना मात्र सभापतिको उम्मेदवार बनाउने प्रयास थियो । यसमा सुजाता कोइराला, शेखर कोइराला र शशांक कोइरालाबीच पटक पटक बार्ताहरू पनि भए । सुजताले आफूलाई त्यो दौडबाट लगभग अलग गरिसक्नुभएको छ ।
शशांकले हिजो त्यस्तो घोषणा गरेपछि कोइरालापरिवारमा नयाँ तरंग उत्पन्न भएको छ ।
यता यो परिवारको साथ लिएर आफू सभापति बन्ने चाहना राख्दै आउनुभएका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि शशांकको यो घोषणाबाट झस्किनुभएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९/१३ हुने कार्यक्रम छ । तर यही भदौ १८ मा सक्ने भनिएका वडा अधिवेशनहरू सदस्यता विवादले सम्पन्न हुन सकेका छैनन् । यी तहको अधिवेशन कार्यतालिकासमेत परिवर्तन भएको छ ।
यता महाधिवेशनमा सभापति र महामन्त्रीको लागि भन्दै उम्मेदवारी घोषणाको क्रम भने जारी छ ।
यसअघि सभापतिपदमा विमलेन्द्रनिधिले आफू उठ्ने घोषणा गर्दै प्रचार प्रसार कार्यालय समेत खोलिसक्नु भएको छ । हालका सभापति शेरबहादुर देउवाले त्यस्तो औपचारिक घोषणा नगरे पनि सभापति पद छोड्ने पक्षमा देखिनुभएको छैन । त्यही समूहबाट उपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा लड्ने विचार व्यक्त गरिसक्नु भएको छ ।
त्यस्तै काँग्रेसका नेता बसन्त गुरुङका छोरा कल्याण गुरुङले युवा नेतृत्व अपरिहार्य भएको बताउँदै सभापतिमा उठ्ने घोषणा गर्नुभएको छ ।
महामन्त्रीका लागि भने अअिलेसम्म गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । यो दौडमा तनहूँका प्रदीप पौडेलल पनि देखिनुभएको छ ।