काठमाडौ, २२ भदौ । अफगानिस्तानको राजधानी सहर काबुलमा भएको विरोध प्रदर्शनमा पाकिस्तानविरोधी नारा लागेको बीबीसीले जनाएको छ ।
ठूलो संख्यामा महिला र युवाहरुको सहभागिता रहेको उक्त प्रदर्शनमा उनीहरुले आफ्नो अधिकारको समेत माग गरेका थिए ।
प्रदर्शनकारीले अब अफगानिस्तानमा पाकिस्तानको कठपुतली सरकार नभई स्वतन्त्र सरकार हुनुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारी राष्ट्रपति भवन पुग्ने प्रयास गरिरहेको बेला तालिबानका लडाकुले उनीहरु विरुध्द हवाई फायर गरेका थिए ।
प्रदर्शनकारीले तालिबानको विरोध गरिरहेको नेनशल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) जिन्दावाद भन्ने नारा पनि लगाएका थिए । पछिल्लो केही दिनयता काबुलमा धेरै प्रदर्शन भएको छ ।
यसमा केहीले राष्ट्रिय झण्डा हटाएको विरोध गरेका थिए भने केही स्थानमा महिलाले आफ्नो अधिकार माग गर्दै प्रदर्शन गरेका थिए ।
सोमबार अफगानिस्तानको बल्ख प्रान्तको राजधानी मजारे शरीफमा महिलाले यस्तै प्रदर्शन गरेका थिए । यो प्रदर्शन शान्तिपूर्ण रहे पनि तालिबानका सदस्यले दुई पत्रकारलाई हत्याको धम्की दिएको बीबीसीले बताएको छ ।
